aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

गोरखा र पोखराका लागि टिकट बुकिङ खुल्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
गोरखा र पोखराका लागि टिकट बुकिङ खुल्याे

काठमाडौं । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो ।

बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए ।

गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएको छ । दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ ।

‘असल संस्कार सिकौँ सिकाऔँ’, ‘आफ्नो देश आफैं बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेको हो ।

समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आएको छ ।

दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट गुड्ने गरेका छन् ।

चाडपर्वको बेला सुरक्षित यात्रामा अभियानले सहयोग पुग्ने उनको भनाइ छ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

यनत्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु ठगिनेबाट जोगिने उनको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन र टिकटमा हुने कालाबजारी रोक्न ट्राफिक प्रहरी लागिरहेको बताए ।

दशैँका टिकट काट्ने हरेक काउन्टरको अगाडि भाडासमेत स्पष्ट रुपमा लेखेर यात्रुले देख्ने ठाउँमा टाँस्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस