aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पछि त सहकारीका ऋणीहरूले धमाधम ऋण तिरेछन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ साउन २०८०
पछि त सहकारीका ऋणीहरूले धमाधम ऋण तिरेछन्
  • प्रतिमान पौडेल

एक सहकारीकर्मीले आफ्नो सपनाबारे बताएको कुरालाई मैले यहाँ लिपीबद्ध गर्ने प्रयत्न गरेको छु ।

म एउटा सहकारी संस्थाको अध्यक्ष छु । सहकारीले बचत तथा ऋणको कारोबार गर्दछ । करिब डेढ दशकदेखि सहकारीले कारोबार गर्दै आएको हो । अहिलेसम्म कारोबारमा खासै समस्या आएको थिएन ।

कोरोनाकाल पछि सहकारीमा समस्या देखियो । ऋण लगेकाहरूले समयमा ऋण तिर्न सकेनन् । ऋण तिर्न नसकेपछि के गर्ने भन्ने विषयमा धेरै नै छलफल भयो, मैले नै सञ्चालक र कर्मचारीहरूलाई सम्झाइ-बुझाइ गरेर व्यवस्थापन गर्न थाल्यौं । यही मेरो मुख्य समस्याको विषय भएको छ ।

सबै त होइन, करिब ३० प्रतिशत ऋणी सदस्यहरूले ऋण तिर्ने कुरामा समस्या देखाउन थाले । हाम्रो अर्थात्‌ मेरो कमजोरी के भने मान्छेको समस्या हेरिदिनुपर्छ, सहकारीले सदस्यको मर्म बुझिदिनुपर्छ । सदस्य आएर समस्या देखायो भने सहकारीले त्यसलाई साथ दिनुपर्छ । सदस्यको हित नै सहकारी हो भन्ने ठानियो ।

सदस्यको मर्म त सहकारीले बुझिदियो, तर सहकारीको मर्म सदस्यले नबुझेका कारण समस्या देखिएको छ । सदस्य नामका केही कीराहरू यस्ता परे कि ! कसरी हुन्छ ऋण त तिर्दै नतिर्ने ।

सहकारीमा गयो : कर्मचारी र सञ्चालकले ‘तपाईंका कारण समस्या सिर्जना भयो’ भन्छन्‌ । घरमा आयो : परिवारको कचकच ! छरछिमेकमा गयो : ‘तिमीले गल्ती गर्‍यौ । यस्तो पनि गर्न हुन्छ ?’ भन्छन् ।

वित्तीय क्षेत्रमा परेको असरभन्दा पहिला खासै समस्या थिएन । ऋण उठ्ने, बचत आउने सबै कुरा राम्रै थियो । तर, यतिबेला बचत उठेको छैन, ऋण पनि उठेको छैन । बचत फिर्ता भने रोकिएको छैन । संस्थामा तनाव नै छ । अझ विशेषगरी मैले अलि धेरै चासो, चिन्ता र समन्वय गरेका कारण मलाई धेरै नै चिन्ता छ ।

सहकारीको चिन्ताले होला - घरमा पनि साह्रै तनाव छ । राती निद्रामा पनि सहकारीकै कुरा आउँछ । मैले सबैलाई सम्झाइ बुझाइ गरेर ऋण लगानी गर्न लगाएका धेरैले ऋण नतिरेकाले मलाई समस्या सिर्जना भएको हो । त्यही तनावले होला प्राय रातीमा सहकारीको ऋणकै बारेमा सपना देख्छु । मैले एकरात यस्तो सपना देखेछु ।

‘पटक-पटक ऋण भुक्तान गर्न ताकेता गर्दा पनि ऋण भुक्तान नगरेका शेयर सदस्यहरूको घर घरमै कर्मचारी सहित पुग्यौं, तर कसैले पनि पैसा तिर्ने कुरा गरेनन्, सबैले अवस्था छैन, सक्दिनँ, आदि भन्दै हामीलाई उल्टो थर्काए, कतिले त तिम्रो अफिसमै आएर आत्महत्या गरिदिउँला समेत भने ।

यस्तो सबै कुरा सुनेर घरमा आएपछि म झन तनावग्रस्त भएँ, घर परिवारलाई यो विषयमा कुरा गर्न खोजेको, सबैले ‘नचाहिने काममा हात हालेर अहिले परिवारलाई तनाव दिने !’ भनेर उल्टो गाली गर्न थाले । परिवार, छिमेक, संस्था सबैतिर मलाई सबैले हेयभावले हेर्न थाले । साँच्चिकै मलाई मेरो गल्तीको महसुस भयो । यस्तो गल्ती किन गरेको हुँला भन्ने लाग्यो । हुन त संस्थामा रहेको रकम सबै ऋण लगानीमै छ, यद्यपी: मेरो प्रेसरले दिएका ऋण जसले तिर्न अटेर गरिरहेका छन्, त्यो कारणले मलाई धेरै नै तनाव थपियो ।

सहकारीमा गयो : कर्मचारी र सञ्चालकले ‘तपाईंका कारण समस्या सिर्जना भयो’ भन्छन्‌ । घरमा आयो : परिवारको कचकच ! छरछिमेकमा गयो : ‘तिमीले गल्ती गर्‍यौ । यस्तो पनि गर्न हुन्छ ?’ भन्छन् ।

साँच्चै अपराध गरेको जस्तै आफैंलाई लाग्न थाल्यो । अपराध त गरेको होइन नि ! सदस्यहरूलाई तमसुक बनाएर ऋण लगानी गरेको हो । ऋण नउठेको मात्र हो । आज म अपराधी जस्तो भएको छु । मेरो कमजोरी भनेको अरूको दु:ख देख्न नसक्ने हो ।

आएर समस्या सुनाउँछ र रुन्छ । मान्छे राम्रै छ, पैसा कमाउन सक्ने, तिर्न सक्ने नै छ । त्यस्तालाई ऋण लगानी गर्दा के समस्या होला र ! मेरो मनले त्यही भन्यो । मैले सबैलाई सहज वातावरणमा ऋण लगानी गर्नुपर्छ भनें । पहिले पनि यस्तो भएकै हो । उति बेला ऋण उठ्यो । ऋणको समस्या भएन । यतिबेला ऋण उठेन । मलाई तनाव भैरहेको छ ।

मनमा तनाव भएपछि के-के सोचिन्छ, सोचिन्छ । एकदिन एकजनाले साह्रै थर्कायो, ‘तिम्रो ऋण तिर्दिन भनेको छैन, अति गर्‍यौ भने आत्महत्या गरिदिन्छु ।’

उसले त्यसो भनेपछि म नबोली घर फर्कें । अनि सोचें - त्यसले धम्क्याउन हुन्छ भने मैले किन नधम्क्याउने ! भोलिपल्ट बिहानै उसको घरमा गएर ‘पैसा तिरिनस्‌ भने म तेरो घरमै आएर आत्महत्या गर्छु’ भन्छु भन्ने सोचेर सुतें ।

त्यो रात मैले सपना पनि त्यस्तै खालको देखें । सपनामै मैले नियमनकारी निकायलाई पत्र लेखें । प्रहरी, पालिका र वडा कार्यालयलाई पत्र लेखें । संस्थाको सञ्चालक समिति र कर्मचारीलाई पत्र लेखें । घर परिवारका नाममा पनि एउटा पत्र लेखें ।

मैले सहकारीबाट कुनै किसिमको रकम हिनामिना गरेको छैन । सहकारीको विकासकै लागि भनेर ऋण लगानी गर्ने कुरामा अलि बढी व्यवहारिक बनेको हो र मैले विश्वास दिलाएका कारण संस्थाबाट धेरै ऋण लगेका छन् । ती ऋणी मध्ये ३० प्रतिशतले ऋण नतिरेका कारण आज मलाई तनाव थपिएको हो । हुन त यो सबैको समस्या हो, तर पनि नैतिक रूपमा यसको जिम्मेवारी मैले लिनुपर्छ भन्ने ठानेर सबैलाई यथार्थ अवस्थाबारे जानकारी हुने गरी पत्रमा सबै कुरा खुलाएँ ।

जे-जस्तो समस्या आए पनि सम्हालिएर, धैर्य भएर समस्याको समाधानका लागि लाग्नु नै जीवन हो ।

सोचें - अब म यो दुनियाँमा बाँच्दिन । म सबैको नजरमा गिरेको मान्छे भएँ । यस्तो मान्छे कसरी बाँच्ने यही सोचेर आत्महत्या गर्ने निधो गरें । यस्तो निधो पछि मैले सोचें, ‘म मरेपछि त सहकारीका ऋणीले ऋण तिर्लान्, ऋण तिरे भने सहकारी राम्रोसँग चल्न सक्ला । मेरा कारणले तनाव भोगेका सञ्चालक र कर्मचारीलाई सहज होला । यस्तै सोच्दै गर्दा मैले एउटा नोट लेखेर ‘पटक-पटक ताकेता गर्दा पनि ऋण नतिर्ने सदस्यका कारण मैले आत्महत्या गरें’ भन्ने सूचना छोडेर आत्महत्या गरें ।

मैले आत्महत्या गरेपछि त सहकारीमा पैसा तिर्नेको लाइन नै लागेको रे ?

फोन करायो, झसङ्ग बिउझिएँ । अचम्म लाग्यो : साँझमा मनले कल्पना गरेको कुरा सपनामा आयो । मनमनै सोचें - जिन्दगीमा नचाहिने कुरा मनमा लिनै नहुने रहेछ । सपनाले त छोडेन भने अरू के कुराले छाड्ला र ?

सहकारीको पैसा नतिर्नेहरूका कारण जति नै तनाव भए पनि सहज रूपमा आफूलाई सम्हालेर अगाडि बढ्ने निधो गरें ।’

तपाईंहरूलाई भनिहालें : यो लेखकको अनुभव होइन् । कुनै सहकारीका अध्यक्षले देखेको स्वप्नब्याख्या हो ।

सहकारीका अध्यक्षज्यूले चिया गफको समयमा सुनाउनु भएको कुरालाई लिपिबद्ध गर्ने सोच बनाएँ । यो विषय लेख नै लेख्नु पर्ने त होइन, तर कहिलेकाहीँ मान्छेले यस्तै यस्तै सोचेर जिन्दगीलाई सिध्याएका घटनाहरू पनि छन् । त्यसैले, जे-जस्तो समस्या आए पनि सम्हालिएर, धैर्य भएर समस्याको समाधानका लागि लाग्नु नै जीवन हो भन्ने सन्देश प्रवाहका लागि पनि लेख्ने जमर्को गरेको हुँ ।

प्रतिक्रिया दिनुहोस