aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिटिजन्स बैंकको लाभांश पारित,  राजनसिंह भण्डारी फेरि बैंकमा फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
सिटिजन्स बैंकको लाभांश पारित,  राजनसिंह भण्डारी फेरि बैंकमा फर्किए

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस अवसरमा गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात र नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशतबराबरको बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।साधरणसभाले संस्थापक समूहअन्तर्गत राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई  निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तर्फबाट सीता कार्की केसीलाई निर्वाचित गरेको छ । साधारणसभा पछि आजै बसेको सञ्चालक समितिको ३१४औं बैठकले राजनसिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ । भण्डारीले आठ महिना अघि बैंकको  सीईओबाट अवकाश लिएका थिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्य अगाडि बढिरहेको जनाएको छ । ८२ वटा शाखा, ७९ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट करिव चार लाख  ग्राहकलाई सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस