
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले ७६ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब २५ करोड ६० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा समेत ७५ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो वर्ष ६ अर्ब २८ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ११ अर्ब १ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष घटेको छ । अघिल्लो वर्ष ११ अर्ब १८ करोड रूपैयाँभन्दा बढी बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ३ अर्ब ८८ करोड रूपैयाँभन्दा बढी मात्र रहेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी रहेको छ ।
हाल बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग ३ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम २७ अर्ब ७ करोड रूपैयाँभन्दा बढी कायम छ । गत चौथो त्रैमाससम्म बैंकले ३ खर्ब ९६ अर्ब ८४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ६२ प्रतिशत रहेकोमा गत वर्ष ३ दशमलव २० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २७ रूपैयाँ ८२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१४ रूपैयाँ ६९ पैसा छ ।
प्रतिक्रिया दिनुहोस