
काठमाडौं । लामो समयको विवादपछि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांशमा संशोधन गरेको छ । कम्पनीका साउन २० गते बसेको सञ्चालक समितीको बैठकले उक्त अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित)मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारण सभाबाट पारीत भएपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
यसअघि गत वर्ष चैत १० गते कम्पनीले बोनस शेयर, नगद तथा करसमेत गरी कुल ७३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले गत वैशाख ४ गते कम्पनीको प्रस्तावित लाभांश घटाएर १७.९३४२ प्रतिशत मात्रै लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो ।
त्यसपछि कम्पनी राष्ट्र बैंकले लाभांश कटौती गरेको भन्दै सर्वोच्च अदालतसम्म पुगेको थियो । तर, सर्वोच्च अदालतले गत जेठ २४ गते लाभांश सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस