aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छिटो अवधिभित्र बिकेन नेपाल एसबीआइ बैंकको ऋणपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ साउन २०८०
छिटो अवधिभित्र बिकेन नेपाल एसबीआइ बैंकको ऋणपत्र

काठमाडौं । नेपाल एसबीआइ बैंक लिमिटेडले साउन १८ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र छिटो अवधि साउन २२ गतेभित्र सम्पूर्ण कित्ता बिक्री नभएपछि निरन्तर बिक्रीमै रहने भएको छ । बैंकले छिटो अवधि साउन २२ गतेभित्र माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि साउन ३२ गतेसम्म बिक्री लम्बिने जानकारी यसअघिकै सूचनामा दिएको थियो ।

ढिलो अवधि साउन ३२ गते अगाबै माग बमोजिम आवेदन पर्न आएमा बिक्री बन्द गर्ने जानकारी बैंकले दिएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबीआइ बैंक ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ हजार रूपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जानकारी दिएको बैंकले बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागेको हो । सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारणमा ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी भने एनएमबि क्यापिटल लिमिटेडले पाएको छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र प्राप्त गर्ने लगानीकर्ताहरूले ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस