aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ साउन २०८०
साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खडका, सञ्चालक समितिका सदस्यहरूसमेत ९ जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  

उनीहरूले उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ । काठमाडौंको भोटाहिटीमा रहेको साझा भण्डार सहकारी संस्था लिमिटेडको नाममा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०–२–० को जग्गा र बाँकेको कोहलपुरको क्षेत्रफल ०–२–१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा उनीहरूले बिक्री गरेको पाइएको छ ।

अख्तियारका अनुसार यस कार्यमा तत्कालीन अध्यक्ष जयकुमार खडका तथा सञ्चालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाको संलग्नता रहेको छ । उनीहरूले साझा भण्डार सहकारीको नाममा रहेको जग्गा अत्यन्त कम मूल्यमा बिक्री गर्ने कार्य गरेका थिए ।  

उनीहरूले व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई चार करोड चार लाख चौबिस हजार एक सय एकासी रुपैयाँ बिस पैसा हानि नोक्सानी पुर्‍याएका छन् । उनीहरूसँग सोही बराबरको बिगो माग गर्दै अख्तियारले मुद्दा हालेको छ । 

त्यस्तै, दैलेखको नारायण नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौंको बाँसबारी बस्ने गीताकुमारी शाहीले सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को क्षेत्रफल ०–२–० को जग्गा बोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य लिई आफन्त नातागोताको नाम राखेकी थिइन् । उनले मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानि नोक्सानी पुर्‍याएको पुष्टि भएको छ । सोही रकम बराबरको उनीसँग पनि बिगो माग गरिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बस्ने सुरोज गिरीले साझा भण्डार सहकारी लिई.को नाममा रहेको बाँकेको जग्गा मन्जुरी विना बोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी चार करोड चौरानब्बे हजार एक सय एकासी रुपैयाँ बिस पैसा हानि नोक्सानी पुर्‍याएको पुष्टि भएको छ । उनीसँग पनि सोहि रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस