aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सावधान, कतै तपाईं पनि खल्तीमा नक्कली नोट बोकेर त हिँड्नु भएको छैन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ असोज २०७६
सावधान, कतै तपाईं पनि खल्तीमा नक्कली नोट बोकेर त हिँड्नु भएको छैन ?

काठमाडौं । दशैंका लागि किनमेल गर्ने, घर फर्किनेको भिडभाड बढेको छ । भिडभाड र हुलमा नक्कली नोटको बिगबिगी नै हुने गरेको छ । भिडभाडमा नक्कली नोट भिडाउने गरिन्छ । यस्तो अवस्थामा सावधानी अपनाउनु जरुरी छ । प्रायः जसो ठूलादरका १ हजार र पाँच सयका नोट नक्कली हुने गरेका छन् । ठूला दरका नोट लिँदा सावधानी अपनाउनु जरुरी छ । ठूला दरका नोट लिँदा सक्कली हो वा नक्कली हेरेर मात्र लिने गर्नुपर्छ । नक्कली नोट हेरेर, छामेर र प्रयोग गरेर छुट्याउन सकिन्छ  ।

अहिले ५, १०, २०, ५०, सय, पाँच सय र हजार दरका नोट छापिन्छन् । त्यसमा पनि पाँच सय र हजार दरका नोट नक्कली हुन सक्ने सम्भावना बढी हुन्छ । साना दरका त्यति धेरै नक्कली नभएको अहिलेसम्मको अध्ययनले देखाएको राष्ट बैंकको भनाइ छ ।

अरुले दिएको नोट नक्कली नपरोस् भन्नका लागि हामीले चिन्न सक्नुपर्छ  । नक्कली नोट हेरेर, छामेर र प्रयोग गरेर छुट्याउन सकिन्छ  । हेरेर पत्ता लगाउन नोटमा भएका विभिन्न चित्र, रङ, नम्बर हेर्नुपर्छ  । छामेर पत्ता लगाउँदा नोटको खस्रोपन, मोटो, पातलो, डट लगायत विभिन्न विधि अपनाउन सकिन्छ  ।

सक्कली नोट खस्रो हुन्छ  । नक्कली नोट चिल्लो हुन्छ  । प्रयोग गरेर छुट्याउनका लागि नोटमा पानीको थोपा हाल्नुपर्छ  । औंलाले हिर्काउनुपर्छ  । सक्कली नोट पानी परे पनि बिग्रिँदैन  । नक्कली नोटमा पानीको थोपा पर्याे भने रङ पोतिने, कागज गल्ने, छिट्टै लत्र्याकलुत्रुक हुने हुन्छ  ।

नयाँ नोटलाई औंलाले हान्दा ट्वाक्क–ट्वाक्क गरी कडा आवाज आउँछ  । नक्कली नोट वा अन्य कागजमा यस्तो आवाज आउँदैन  ।नोटमा अघिल्लो र पछिल्लो भागमा फरकफरक विशेषता हुन्छन यसबारे जानेर हामी नोट सक्कली वा नक्कली छुट्याउन सक्छौं  ।

अघिल्लो भाग : यसमा प्रमुख चार प्रकारका विशेषता हुन्छन् ।

(१) हामीले हजार, पाँच सय र सय रुपैयाँका नोटमा दायाँ पुच्छर भागलाई उज्यालोतिर ठड्याएर हेर्दा त्यहाँ लालीगुँरासको चित्र देखिन्छ  । त्यसलाई पानी छाप भनिन्छ । नक्कली नोटमा त्यस्तो देखिँदैन  । 

(२) नोटको बीच भागको तलपट्टि अंग्रेजी अक्षरमा राष्ट्र बैंकको छोटकरी रूप ‘एनआरबी’ लेखिएको हुन्छ  ।

(३) नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्को हुन्छ  । यसलाई सुरक्षण धागो भनिन्छ  । उक्त धर्कोलाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा राष्ट्र बैंकको छोटकरी रूप ‘एनआरबी’ देखिन्छ  । यो धर्को हजारमा अलि ठूलो, पाँच सयमा हजारभन्दा सानो र सयको नोटमा पाँच सयको भन्दा सानो हुन्छ  ।

(४) अगाडिको भागको चौथो विशेषतामा तीनवटा कुरा हेर्न सक्छौं  । नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत  ।यसैगरी नोटको बीच भागमा ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ  (१ हजार वा ५ सय वा १ सय) तुरुन्त पाइनेछ,’ लेखिएको हुन्छ । त्यसको तलतिर गभर्नरको दस्तखत हुन्छ  ।

हजार दरको नोटको दायाँतिर बीच भागमा भगवती, पाँच सयको नोटमा कुवेर र सयको नोटमा मायादेवीको आकृति हुन्छ  । हजारको नोटको दायाँतिर बीचमा तीनवटा गोलाकार थोप्ला हुन्छन यस्ता थोप्ला पाँच सयमा दुई वटा र सयको नोटमा एउटा हुन्छ  । ती थोप्ला फरक क्षमता भएका दृष्टिविहीनका लागि राखिएका हुन् । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ  । उक्त प्रिन्ट भएको ठाउँमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ  ।

पछिल्लो भाग : यसमा प्रमुख दुई विशेषता हुन्छन् ।

(१) पछिल्लो भाग दुवैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ  । नोटको अग्र भागमा लेखिएका वाक्यांशहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ  । 

(२) नोटको पछिल्लो भागबाट हेर्दा पनि पानी छापभित्र लालीगुराँसको चित्र देखिन्छ । हजारको नोटको पछिल्लो भागमा एउटा हात्ती, पाँच सयमा पाटेबाघ र सयको नोटमा एकसिंगे गैँडाको माउ र बच्चाको चित्र हुन्छ  । यो दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ  । हजार दरको नोट पछाडिको दायाँ भागमा गाढा सुनौलो रङ हुन्छ  । पाँच सयको नोट पछाडिको दायाँ भागमा हरियो रंग हुन्छ । सयको नोटमा अग्र भागलाई हेर्दा उक्त सुरक्षण धागो रातो रंगको देखिन्छ  । नोटलाई केही ढल्काएर हेर्दा हरियो रंगको देखिने हुन्छ  । नोट जति पुरानो र मैलो भए पनि यसको रंग बिग्रिँदैन  । नक्कली नोटमा रंग बिग्रने हुन्छ भने गाढा रंग पनि हुँदैन ।


 

प्रतिक्रिया दिनुहोस