aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ग्लोबल आइएमई बैंक : करमा पनि ‘नम्बर वान’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० साउन २०८०
ग्लोबल आइएमई बैंक : करमा पनि ‘नम्बर वान’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो ।

ग्लोबल आइएमई बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मर्जरपछि अधिकांश बैंकहरूले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकहरूमा प्रतिष्पर्धी बैंक भन्दा राम्रो नतिजा ल्याएको छ ।

कूल पुँजी तथा चुक्ता पुँजीका आधारमा पनि ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक हो । हाल यस बैंकको कूल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधै अग्रस्थानमा रह्यो ।

ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् । 

मुलुकभित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ । बैंकका बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरू रहेका छन् । 

यसरी बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष हुन् । 'सबैका लागि बैंक' भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस