
काठमाडौँ । बैंक अफ काठमाण्डू(बओके) पुर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) पक्राउ प्रकरणले नेपालको बैंकिंग क्षेत्रमा आतंक नै मच्चाएको छ । तर, त्यसरी नै आतंकित हुनुपर्ने अर्को समुदाय भने मौन छ । त्यो मौनता देख्दा लाग्छ उनीहरुले चिन्ता गर्नुपर्ने विषय नै होइन यो । फेरी केहि तथ्यले भनिरहेको देखिन्छ( नेपालका उद्योगी र व्यापारीका लागि पनि यो प्रकरण मार्फत खतराको घन्टी बजेको हो ।
हो, यहाँ चर्चा गर्न खोजिएको नेपालका उद्योगी र व्यापारी समुदाय कै हो । र, प्रसंग बैंकिंग कसुरमा हुनसक्ने कारवाहीको नै हो । शुरुवात केहि तथ्यबाट गरौँ ः
कर्जा सूचना केन्द्रले जारी गरेको कालोसूचीमा परेका व्यापारीहरुको सूची हेर्ने हो भने दर्ता न ३७५४, ४१९६, ४२४२ र ४२५४ मा भिन्ना भिन्नै कम्पनीको नाममा ऋण लिएर कर्जा नतिर्ने एकै जना व्यापारीको नाम छ । त्यो नाम हो, चण्डिराज ढकाल । उनले मोमेन्टो एपेरल्स, रेडीएन्ट फन वेर फेसन र बेइजिङ्ग रोस्ट डक रेस्टुरेन्टको नाममा राष्ट्रिय बाणिज्य बैंक लगायत विभिन्न बैंकबाट लिएको ऋण नतिरेर सो सूचिमा सामेल भएका हुन् ।
बिडम्बना कहाँनेर हो भने उनी तिनै व्यक्ति हुन् जसलाई नेपालका उद्योगी र व्यापारीहरु आफ्नो सर्वोच्च नेताका रुपमा सम्मान दिइरहेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका उनी हाल कार्यसमितिमा समेत छन, विशिष्ट सदस्यको हैसियतमा । उनी त्यहाँ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाभन्दा पनि उपल्लो दर्जामा (हैसियतका साथ) क्रियाशिल छन् ।
यो विषयको उठानको प्रमुख कारण यो हो कि यदि अजय श्रेष्ठ अहिले नेपाल बैंकर एसोसिएसनको कुनै प्रभावशाली जिम्मेवारीमा थिए भने उनी जेल जानु पथ्र्याे वा पर्दैनथ्यो ? यदि पदीय जिम्मेवारी अनुरुपको काम प्रक्रिया पुर्याएर गरेको अवस्थामा समेत बैंक अफ काठमाण्डूका पुर्व सीईओ श्रेष्ठले परिवन्धमा परेर जेलमा बस्नैपर्ने अवस्था हो भने बैंकबाट पैसा लिने र नियतवश नतिर्ने चण्डिराज ढकाललाई मात्र उन्मुक्ति किन ?
यो प्रश्न यसकारण पनि उठ्नु जायज देखिन्छ कि अजय श्रेष्ठले डेढ करोड ऋण सुरेन्द्र श्रेष्ठको नाममा प्रवाह गर्नुभन्दा केहि वर्षअघि नै अर्थात् २०६७ सालको मङ्सिर १७ गते नै चण्डिराज कालोसूचीमा परेका व्यक्ति हुन् । राष्ट्रिय बाणिज्य बैंक स्रोतका अनुसार उनले सो बैंकलाई अहिले लगभग डेढ अर्ब रुपयाँ तिर्न बाँकी छ । तर, उद्योग बाणिज्य महासंघको ’छायाँ अध्यक्ष’ भएकै कारण उनि विरुद्ध बैंकिंग कसुरको अभियोग दर्ता गर्न बाणिज्य बैंक हिच्किचाई रहेको छ ।
के त्यसो भए प्रभावका आधारमा कानुनलाई निस्तेज पार्न सकिन्छ ? यदि चण्डिराज ढकाललाई हेरेर जवाफ दिने हो भने भन्नुपर्ने हुन्छ ’हो सकिन्छ’ । यसले के पुष्टि गर्छ भने ’सानालाई ऐन, ठुलालाई चैन’ भन्ने उक्ति अहिलेपनि सान्दर्भिक नै छ । त्यसैले त गुट, शक्ति केन्द्र र आफ्नो पेशागत संगठनको दुरुपयोग नगर्ने अजय श्रेष्ठले यो सालको दशैँ जेलमा बिताउनु पर्ने अवस्था आयो तर बैंकको अर्बौं डुबाउने ढकाल जस्ता व्यापारीहरु भने बाहिर रमाइरहेका छन, मान र इज्जत सहित सानको जीवन बाँचिरहेका छन् ।
त्यसो त मान, इज्जत र प्रतिष्ठा भन्ने विषय चाहिं अलिक फरक हुँदो रहेछ । त्यसैले काठमाडौं बाहिरका धेरै ब्यापारीहरुले चण्डिराजलाई बहिस्कार गर्न थालेका छन् । केहि समय अघि पोखरामा त्यहि भयो । उनको विरुद्ध नारा नै लाग्यो । किनकी इमानको व्यापार र नैतिकताको जीवन व्यतित गर्न चाहने हरेक व्यापारीहरु उनलाई आफ्नो नेता मान्न नसक्ने अवस्थामा छन् । तर, ढकालले नैतिकतालाई कुनै महत्व दिएजस्तो देखिंदैन । यदि उनमा थोरै पनि नैतिकता हुने हो उनले नेपाल उद्योग बाणिज्य महासंघको चिरहरण गर्न अब छोड्नु पर्छ ।
उनी महासंघको सर्वोच्च पद अध्यक्ष भए कै दशक बितिसक्यो । विशिष्ट सदस्यको रुपमा सम्मानित रहेकै छन् । यदि अब पनि त्यो छोडेनन् र आफ्नो व्यक्तिगत बचाउका लागि महासंघ प्रयोग गर्ने कुचेष्टा जारी राखेभने महासंघ आफैले उनलाई कारवाहीको माग गर्दै आफ्नो संस्थागत प्रतिष्ठा जोगाउनुपर्ने अवस्था आउँन सक्छ । त्यो स्वयं उनको लागि र महासंघको लागि समेत हितकर हुँदैन ।
हुन त उनी सहमतिमा समस्या सुल्झाउने भन्दापनि महासंघको शक्ति दुरुपयोग गरेर पेल्न सकिने कुरामा बिश्वास गर्छन् भन्छन् महासंघका पुर्व नेताहरु । पुरानो प्रसंग कोट्याउँदै एक पुर्व अध्यक्षले भने,’कुरा पाँच वर्ष अघिको हो जुनबेला सुरज बैद्य महासंघ अध्यक्ष थिए । त्यो बेला बैंकले चण्डीलाई ऋण तिर्न तीब्र दबाब दिइरहेको थियो । बैद्य बैंकसँग नेगोसेसन गरेर चण्डीलाई ऋणमुक्त गराउन चाहन्थे । उनले तिर्नुपर्ने करिब एक अर्ब पुगिसकेको थियो ।
लामो छलफल पछि ५५ करोड रुपैयाँ तिर्ने भए बैंकले प्रक्रिया अघि नबढाउने समझदारी भयो । तर, चण्डीले त्यो समेत म तिर्न सक्दिन भने । महासंघको नेतृत्वले चण्डी कै अनुरोधमा अर्थ मन्त्रालयमार्फत बैंकलाई चण्डीको ऋण असूलीमा लचक बन्न दबाब दिएपछि बैंकले ५० करोड तिरे पुग्छ भन्यो । तर, उनले ४० करोड पनि तिर्न सक्दिन भनेर आफ्नै प्रस्ताबबाट पछि हटेपछि चण्डीलाई ऋणमुक्त बनाउन सक्रिय सुरज बैद्य, भाष्करराज कर्णिकारहरु नै जिल्ल परे । अनि यो विषयबाट पर बस्ने निर्णय गरे । उता चण्डी सुरजसंग रिसाए । पछि उनीहरुको झगडा सतहसम्मै छताछुल्ल भयो ।’ उनले बेलिबिस्तार अगाडि बढाए, ‘चण्डीले चाहेका भए ५ वर्षअघि नै ५० करोड तिरेर बैंकको ऋण र कालोसूचीबाट मुक्त हुन सक्थे तर, उनको नियत नै ऋण नतिर्ने देखियो ।’
अर्थमन्त्रालय सम्बद्ध स्रोतका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालको ऋणप्रति चासो देखाउँदै वाणिज्य बैंकलाई असूल गर्न भनिसकेका छन् । बैंकले पनि ढकाललाई ऋण नतिरे बैंकिङ कसूरमा मुद्दा दायर गर्ने चेतावनी दिइसकेको भन्ने समाचार सार्वजनिक भईरहेका छन् । यस्तोमा आफ्नो व्यक्तिगत इज्जत र प्रतिष्ठा गुमे पनि ढकालले छाती फराकिलो परेर महासंघको इज्जत जोगाउन तर्फ लाग्नुपर्छ । जतिसक्दो चांडो महासंघको राजनीतिबाट बाहिर निस्केर आम उद्योगी र व्यापारीको सामाजिक सम्मानको रक्षा गर्नुपर्छ ।
उनले महासंघबाट जति पाउनुपर्ने हो त्यो पाइसके, यसलाई जति दोहन गर्नसक्थे त्यो भैसक्यो । यदि सकारात्मक भावले महासंघ छोड्न उनलाई आफ्नो व्यक्तिगत आचरण र आदतले दिंदैन भने नेपाल उद्योग बाणिज्य महासंघलाई आफुले रस चुसेर छाडेको ’उखुको खोस्टो’ ठानेर भएपनि छाडिदिए सबैको इज्जत बच्ने थियो । नत्र आम मानिसले व्यापारी र उद्योगी भनेकै ’बैंकमारा’ भन्ने बुझ्ने दिन धेरै टाढा देखिंदैन ।
प्रतिक्रिया दिनुहोस