
काठमाडौं । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले तीन वर्षमा दोब्बरले शाखा विस्तार गरेका छन् । शाखा बिस्तार गर्ने काममा बैंकले अभियान नै चलाएपछि वाणिज्य बैंकको शाखा तीन वर्षमा दोब्बरले वृद्धि हुन पुगेको हो ।
२०७३ को असार मसान्तसम्म वाणिज्य बैंकले १८६९ शाखा स्थापना गरेका थिए । त्यो संख्या बढेर गत साउन मसान्तसम्म ३६४३ पुगेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । आगामी पुससम्ममा अझै धेरै शाखा खुल्ने अनुमान गरिएको छ । पुस मसान्तभित्र १६ स्थानीय तहमा बैंकका शाखा खोल्नुपर्ने भएकाले बैंकका शाखा अझै बढ्ने राष्ट्र बैंकको भनाइ छ । पुसभित्र सबै स्थानीय तहमा बैंकका शाखा खोल्न राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको छ ।
गत असारसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउन निर्देशन दिए पनि भवन, बर्खालगायतको कारण देखाउँदै शाखा स्थापना गर्न सम्भव नभएको भन्दै बैंकहरुले राष्ट्र बैंकलाई पुस मसान्तभित्र पुर्याउने बचन दिएका थिए । ती स्थानीय तहमा शाखा स्थापना भएपछि शाखा अझै बढ्ने छन् । अझै पनि १६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।
अहिले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक शाखा विस्तार गर्ने होडबाजीमा लागेका छन् । प्रत्येक दिन जसो एउटा न एउटा बैंकले शाखा विस्तार गरिरहेका छन् ।पछिल्लो समय शाखा विस्तारलाई बैंकहरुले तीव्रता दिन थालेका छन् । सम्बन्धित क्षेत्रमा अर्को बैंकभन्दा आफ्नो बैंकको उपस्थिति मजबुत बनाउने ध्याउन्नमा बैंक लागिरहेका छन् ।
खासगरी स्थानीय तहको निर्वाचनपछि बैंकहरुले शाखा खोल्ने कामलाई द्रुत गतिमा बढाउन पुगेका हुन् । शान्ति सुरक्षालगायतका कारणले पनि त्योभन्दा पहिला स्थानीय तहमा बैंक शाखा खुल्न सकेका थिएनन् ।
साउनसम्ममा सबै वाणिज्य बैंकले ३६४३ शाखा खोलिसकेका छन् । अझै खोल्दै जाने क्रममा बैंक छन् । संघीय संरचना अनुसार बनाइएका ७५३ स्थानीय तहमध्ये हालसम्म ७३७ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अझै १६ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।
प्रदेश ७ मा ८८ स्थानीय तहमध्ये ८२ वटा स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । यो सबैभन्दा बढी बैंकको उपस्थिति नभएको प्रदेश हो । उक्त प्रदेशमा अझै ६ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।
प्रदेश ६ मा अझै ४ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा ७९ स्थानीय तहमध्ये ७५ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । दोस्रो बढी बैंकको उपस्थिति नभएको यो प्रदेश हो ।
प्रदेश १ मा १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा १ स्थानिय तहमा मात्र बैंकको शाखा पुग्न सकेको छैन । प्रदेश ३ का अझै २ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा कुल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।
प्रदेश २ मा १३६ स्थानीय तह मध्ये १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा पनि २ स्थानिय तहमा बैंकका शाखा पुगेका छैनन् । प्रदेश ४ मा ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा बैंकका शाखा पुगिसकेका छन् । उक्त प्रदेशमा पनि १ स्थानिय तहमा बैंकको शाखा छैन् ।
प्रदेश ५ मा सबै स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा १०९ स्थानीय तह छन् । सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने अभियानमा लागेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘अझै १६ स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ उनले भने–‘ नपुगेका बाँकी ठाउँमा पनि पुर्याउने कोसिस गरेका छौं।’
क्षेत्रगत रुपमा स्थानीय तहमा बैंकको पँहुच जसरी बढ्दै छ, जनसंख्याका आधारमा पनि बैंकको पहँुच बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले कुल जनसंख्याको ६० प्रतिशतलाई सेवा दिइरहेका छन् । बैंकहरुले मात्र ४० प्रतिशत जनतामा बैंकिङ पहुँच पुरयाएका छन् । पहिला ग्राहक बैंकमा धाउनुपर्ने स्थिति थियो अहिले त्यो स्थितिमा परिवर्तन भएर बैंक ग्राहककहाँ पुग्न थालेका छन । बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धात्मक उपस्थितिको उपज हो यो, जसले गर्दा विदेशबाट रकम पठाउने, साना व्यवसायी, उद्यमी र निक्षेपकर्तालाई सहज बनाइदिएको छ ।
पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै लगेका छन् । केन्द्रीय बैंक राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा पहुँच पुर्याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा सुविधा पुर्याउन थालेका हुन् । यसले गर्दा पनि बैंकको शाखा तिब्र गतिमा बृद्धि हुन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस