
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश रहेको जानकारी बैंकले दिएको छ । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने तयारी गरेको हो ।
बिहीवार सार्वजनिक विदाका दिन भएकाले शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत लाभांश प्रस्ताव सम्बन्धि निर्णय सार्वजनिक गर्ने बैंकको भनाई छ । यतिबेला धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव सार्वजनिक गर्ने क्रम सुरु भैसकेको छ । वाणिज्य बैंकहरूमध्ये यस अघि माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेको अवस्थामा तेस्रो नम्बरमा सानिमा बैंकले लाभांश सार्वजनिक गरेको हो ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । बैंकले गत वर्षभन्दा यस वर्ष बढाएर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले अघिल्लो आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस