
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुरको बेलका नगरपालिका वडा नं ९ अन्तर्गत रामपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार उक्त शाखाको उद्घाटन बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका हुन् ।
रामपुर बजार आर्थिक र व्यापारिक दृष्टिकोणले तिब्र विस्तार हुँदै गएको छ । ग्राहकहरूलाई विभिन्न निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता बमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नु नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । उनीहरूकै रोजाइको माध्यम अर्थात् भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको रेमिट्यान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरू उक्त नव स्थापित शाखा कार्यालय रामपुरबाट प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्ब ८० करोड रहेको छ भने निक्षेप संकलन लगभग १३ अर्ब ७१ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरू मार्फत ग्राहकहरू समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने कोसी प्रदेश कार्यक्षेत्र रहेको यस वैंकले आगामी दिनहरूमा उक्त प्रदेशभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्यका साथ कार्य योजना अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस