aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दशैंअघि नै लाभांश पारित गर्दै सिटिजन्स बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
दशैंअघि नै लाभांश पारित गर्दै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले यस वर्षको लाभांश दशै अघिनै पारित गर्ने भएको छ । बैंकले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधरामा कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले गत वर्ष भने कुल ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो दुई आर्थिक वर्ष बैंकले नगद लाभांश वितरणमा जोड दिएको हो ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले असोज २६ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै संस्थापक शेयरधनीबाट तीन जना र सर्वसाधारण शेयरधनीहरूबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस