
काठमाडौं । एनआईसी एसिया बैंकको लाइसेन्स खारेज गर्न माग गर्दै नियामक नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । सो बैंकले नागरिकलाई बिना कारण ऋण बोकाएकोले खारेज गर्नुपर्ने माग सहित लगभग तीन साता दिन अघि भदौ १८ नै राष्ट्र बैंकमा दर्ता भएको उजुरी माथि अझैसम्म कुनै कारबाही अघि नबढेको भन्दै पीडितले गुनासो गरेका छन् ।
हुन पनि ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ भन्ने उक्ति नै गलत साबित गर्न यो बैंक लागि परेको देखिएको छ । यसअघी कहिले ग्राहक ठग्ने त कहिले ऋणीको घरको ढोकामा हतियारधारी उभ्याएर त्रास फैलाउने जस्ता हर्कत गर्दै आएको यो बैंकले दुई जना व्यक्तिलाई लिँदै नलिएको ऋणको भारी बोकाएर अनौठो लुट धन्धा सुरु गरेको देखिएको छ।
आर्थिकन्युजलाई प्राप्त उजुरीको प्रतिलिपि अनुसार लोकतान्त्रिक तथा सामाजिक अभियन्ता नन्दराज उपाध्यायले राष्ट्र बैंकमा दर्ता न. ४० सहित भदौ १८ गते उजुरी दर्ता गरेका छन् । जसमा उनले एनआईसी एसिया बैंक सुर्खेतको एरिचोक शाखाले स्थानीय दुई जनालाई बैंकमा खाता खोल्न लगाएर जबरजस्त ऋणको भारी बोकाएको उल्लेख गरिएको छ।
यसरी बैंकको ठगीमा पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का अमर चौधरी र वडा न. २ का गणेश थारु रहेका छन् । बैङ्कसमक्ष ऋण लिन कुनै प्रक्रिया नै अघि नबढाएका उनीहरूले क्रमशः ९ लाख ५० हजार र ११ लाख ४० हजार ऋण लिएको देखाइएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीमा लेखिएको छ- ‘ग्राहकलाई भ्रममा पार्दै उनीहरूको सम्पत्ति हत्याउने भित्री उद्देश्य राखेको आफ्नो कालो कर्तुत सर्वसाधारण जनतामा प्रयोग गरेको खुलासा भएको हो ।‘ विभिन्न समाचार माध्यमबाट यो कर्तुत बाहिरिए पछि डाडुपुन्यु नै आफ्नै हातमा रहेको बैंकले निजहरूले ऋण लिएको झुटो प्रमाण तयार गरी त्यस्तो दाबी गरेको समेत उजुरीकर्ताले बताएका छन् ।
राष्ट्र बैंकमा दर्ता गरिएको उजुरीमा ‘प्रमाण सबै आफै बनाउन सक्ने भएको कारण बैंकले शक्तिको आडमा कालो कर्तुत गरेको’ आरोप लगाइएको छ । सो सम्बन्धी उजुरी लिएर सम्बन्धित बैंकको केन्द्रीय कार्यालयमा पुग्दा त्यहाँ उनीहरूले मौनता साँधेर गल्ती स्वीकार गरेको उजुरीकर्ताको भनाइ रहेको छ । स्वयम् बैंकका प्रमुख कार्यकारी अधिकृत नै दोषी रहेकोले उनीहरूले उजुरी दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ ।
यस प्रकारको घटना र राष्ट्र बैंकमा उजुरी परेको विषयबारे प्रतिक्रिया लिन एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँग सम्पर्क गर्दा उनले यसबारे केही बोल्न चाहेनन् । तर, यदि खाता खोलेकै आधारमा ऋणको भारी बोक्नुपर्ने हो भने एनआइसी एसिया बैंकमा खाता संचालन वा यस्तो बैंकसँग कारोबार गर्ने वा नगर्ने भन्नेबारे सबैले एक पटक सोच्नै पर्ने हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस