aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दशैंमा देश रमाउँदा ऊर्जा उत्पादक भने चिन्तामा, २५ आयोजना बैंकले लिलामी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
दशैंमा देश रमाउँदा ऊर्जा उत्पादक भने चिन्तामा, २५ आयोजना बैंकले लिलामी गर्दै

काठमाडौं । दशैंमा देश रमाउँदा ऊर्जा प्रवद्र्धक भने चिन्तमा डुबेका छन् । २५ जलविद्युत् आयोजनाले बैंकको सावाँ ब्याज तिर्न नसकेका कारण बैंकले लिलामी गर्ने स्थितिमा पुगेका छन् । २५ मध्ये तीन बटा जलविद्युत् आयोजनाले त बैंकको ऋण भुक्तानी गर्न नसकेर लिलामीका लागि ३५ दिने सूचना जारी गरिसकेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का उपाध्यक्ष कुमार पाण्डेले बताए । 

प्राधिकरण मातहतका आयोजनालाई भन्दा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाबाट उत्पादित बिजुलीलाई कम मूल्य दिएको, खोलाको पानी कम हुँदा पनि सम्झौताअनुसार बिजुली उत्पादन नगरेको भन्दै निजी क्षेत्रका आयोजनाबाट हर्जना लिनेलगायतको काम गरेकाले समस्या पर्दै गएको आरोप उनीहरुले लगाउँदै आएका छन् ।

उनीहरुले बैंक लिलामी हुनबाट जोगाउन माग गर्दै आन्दोलन शुरु गरेका छन् । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतसँग छलफल थालेको छ । यस्तै विभिन्न राजनीतिक दलसँग पनि छलफल शुरु गरेका छन् । सरकारलाई ज्ञापन पत्र बुझाउनेसम्मका काम गर्दै आएका छन् । 

आफ्ना माग पूरा नभए सरकारलाई साँचो बुझाउने चेतवनी पनि दिँदै आएका छन् । ३० वर्षपछि बुझाउनुपर्ने साँचो २० वर्षमै बुझाउने तयारी भइरहेको उनीहरुको भनाइ छ । समस्या समाधान नभए कात्तिक १ गते आयोजनाको साँचो बुझाउने एक ऊर्जा उत्पादकले बताए । 

विद्युत प्राधिकरणले निजी उत्पादकबाट सस्तो दरमा विद्युत किन्ने र ग्राहकलाई महँगोमा बेचेर नाफा कमाइरहेको भए पनि आफूहरु मारमा पारेको गुनासो पाण्डेले गरे । स्वतन्त्र ऊर्जा उत्पादकहरुका अनुसार प्राधिकरणले निजी ऊर्जा उत्पादकबाट प्रतियुनिट ५ रुपैयाँमा बिजुली खरिद गरिरहेको छ भने प्राधिकरण मातहतका आयोजनाबाट उत्पादित विद्युत्लाई प्रतियुनिट ९ रुपैयाँ दिने गरेको छ ।

प्राधिकरणले दिने उक्त रकमले उनीहरुले लिएको बैंकको ब्याज पनि तिर्न नपुगेको ऊर्जा उत्पादकहरुको भनाइ छ । घरखेत जाने अवस्था आएको ऊर्जा उत्पादकहरुले गुनासो गरेका छन् । घाटामा आफूहरुले यस्ता आयोजना सञ्चलन गर्न नसक्ने भन्दै सरकारलाई आयोजनाको सबै स्वामित्व बुुझाइ दिएर झन्झटबाट मुक्त हुने तयारीमा उनीहरु पुगेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुले प्राधिकरण मातहत निर्माण भइरहेका आयोजना सरह बिजुली उत्पादन गरिरहेका छन् । प्राधिकरण मातहतका आयोजनाबाट ५६३ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ भने निजी क्षेत्रबाट ५६१ मेगाबाट बिजुली उत्पादन हुँदै आएको छ।


 

प्रतिक्रिया दिनुहोस