aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिटिजन्स बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
सिटिजन्स बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गते (आज) देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १० वर्षे अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । 

बैंकले प्रतिऋणपत्र  १ हजार रूपैयाँ अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । 

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो  ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन बन्द छिटोमा असोज २१ गतेभित्र हुनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा कात्तिक १ गतेसम्म विक्री लम्बिनेछ ।

बैंकको ऋणपत्र तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिनेछ । 

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस