काठमाडौं । बैंकिङ कसुरका उजुरी बढिरहँदा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी अधिकृतहरूले यसैलाई कमाउ धन्दा बनाइरहेका पाइएको छ ।
आर्थिकन्यूजको सम्पर्कमा आएका झण्डै एक दर्जन पीडितहरूले यस्तो जानकारी दिएका हुन् । आफूहरूलाई प्रहरी परिसरमा बैंकिङ कसुरका उजुरी हेर्ने प्रहरी अधिकृतहरूले पीडकसँगै मिलेर मुद्दा मिलाइदिन्छु भन्दै रकम असुलेको उनीहरूले बताएका छन् । चेक बाउन्सको उजुरी खेपेका केही पीडकले पनि प्रहरी परिसर पुग्दा आफैं पीडित बनेको जनाएका छन् ।
यीनै पीडितमध्ये एक हुन् - कविन्द्र बुढामगर । दुई करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा परिसर पुगेका कविन्द्र बुढामगर प्रहरीबाटै पीडित भए । ‘केश मिलाइदिने’ भन्दै रकम असुलेर प्रहरी परिसरका विभागीय अधिकृतहरूले उल्टै दुःख दिएपछि उनी हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन् ।
केश मिलाइदिने भन्दै केही महिनाअघि परिसरमा कार्यरत प्रहरी अधिकृतले आठ लाख रुपैयाँ लिएको पीडित बुढाले जानकारी दिएका छन् । तर, रकम असुलेर काम नगरिदिएपछि उनले सीआईबीबाट फाइल अघि बढाएका हुन् ।
केही दिन अघिमात्र परिसरबाट चितवन ट्राफिक कार्यालय सरुवा भएका डीएसपी श्रीराम भण्डारीले परिसरको बैंकिङ कसुर शाखामा नै हाकाहाकी रकम माग गर्ने गरेको एक पीडितले बताए ।
‘भण्डारीले बैंकिङ कसुरका केशबाट रकम आउने वा नआउने पहिले नै पत्ता लगाउने रहेछन्,’ ती पीडितले भने, ‘रकम आउने देखिए आफ्नो कार्यकक्षमै बोलाएर यति दिने भए केश चाँडो टुङ्ग्याइदिन्छु भन्ने रहेछन् । मलाई पनि त्यस्तै गरे ।’
परिसरमा केहि विचौलिया समेत पालेर राखेको थाहा पाएपछि भण्डारीलाई एक महिनाअघि नै सरुवाको पत्र थमाइएको थियो । तर, उनी सरुवा हुन मानेका थिएनन् । डीएसपी भण्डारीबारे धेरै गुनासो आएपछि निजलाई सरुवा गर्न बाध्य भएको परिसर स्रोतले बताएको छ । हाल उक्त शाखामा डीएसपी द्वारिकाप्रसाद घिमिरे आएका छन् ।
यसो भन्छन् भण्डारी
हालै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा सरुवा गरिएका डीएसपी भण्डारीले परिसरमा रहँदा आफूले एक पैसा पनि नअसुलेको दाबी गरे । आर्थिकन्यूजसँग कुरा गर्दै उनले भने, ‘पशुपतिनाथ र परिवारको कसम खाएर भन्छु : मैले सेवा अवधिमा अहिलेसम्म अनैतिक ढंगले कसैसँग एक पैसा पनि असुलेको छैन ।’
परिसरमा रहँदा चेक बाउन्सका मामिला अनुसन्धान क्रममा कसैसँग कडा मिजाजमा कुरा गरे पनि आफूले खोलाजस्तै बगेको साधारण जिन्दगी बाँचेको उनको भनाइ छ । प्रहरीलाई हिलो छ्याप्न सजिलो हुने हुनाले यस्तो आरोप लगाइएको हुनसक्ने उनले तर्क गरे ।
सरुवा ढिलो हुनुको कारण एसएसपी भुपेन्द्र खत्री कोरियामा रहेको र उनले नै आफू फर्किएपछि रमाना लिएर जान भनेकाले समय लागेको भण्डारीले बताए ।
६० प्रतिशत उजुरी काठमाडौंमै
देशभर हुने बैंकिङ कसुरका कम्तिमा ६० प्रतिशत उजुरी काठमाडौंमा नै पर्ने गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर कार्यालयमा दैनिक सयौं संख्यामा बैंकिङ कसुरका उजुरी पर्ने गरेका छन् । त्यही उजुरीलाई परिसरले कमाउ धन्दा बनाएको हो ।
‘दैनिक आउने बैंकिङ कसुर (चेक बाउन्स) मा चेकको रकम हेरेर त्यहाँका प्रहरीले बार्गेनिङ गर्ने गरेका छन्,’ एक पीडितले भने, ‘कारबाही अघि नबढाइदिन भन्दै पीडकहरू पहिले नै रकम लिएर पुग्ने रहेछन्, पीडकबाट रकम असुलेका प्रहरीले दोस्रो शिकार पीडितलाई बनाउने रहेछन् ।’
आर्थिकन्यूजको सम्पर्कमा आएका तीन पीडितका अनुसार प्रत्येक चेक बाउन्सका केश दर्ता गर्न गएका पीडितलाई पीडकसँग मिलेर त्यहाँ कार्यरत डीएसपीले केरकार गर्ने गर्छन् । त्यसपछि केश मिलाइदिन्छु भन्दै आर्थिक लाभ लिने र महिनौंसम्म पीडितको केस लम्ब्याइदिने गरेका छन् ।
१० हजारदेखि ५ करोड रुपैयाँसम्मका चेक बाउन्सका मुद्दा परिसरमा आएका छन् । चेक बाउन्स मुद्दामा अदालतले जति रकम चेकमा छ : सोही बराबर धरौटी माग्ने गरेको छ । तर, केश मिलाउने दाउमा प्रहरीले नै आफ्नो भागका रूपमा बारम्बर पीडितलाई शोषण गर्ने गरेको परिसरमा भेटिने पीडितहरूको गुनासो छ ।
हाल करिब २५ हजारको हाराहारीमा चेक बाउन्सका केश परिसरमा छन् भने जिल्ला सरकारी वकिलको कार्यालयमा यस आर्थिक वर्षको दुई महिनामै ५०० भन्दा बढी केश दर्ता भएका छन् ।
सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ‘कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीको लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन,’ लेखिएको छ ।
यसअघिको बैंकिङ कसुर तथा सजाय ऐनमा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटिदिन नहुने’ मात्रै उल्लेख थियो ।
मुद्दा बढेको बढ्यै
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले चालू आर्थिक वर्षको पहिलो दुई महिनामै बैंकिङ कसुरका ५१२ मुद्दा दर्ता गरेको छ । यी म्याद थप भएर अनुसन्धान चलिरहेका मुद्दा हुन् ।
काठमाडौं जिल्लामै दुई महिनाभित्र बैंकिङ कसुरका यति धेरै मुद्दा दायर भएको हो । यी बैंकिङ कसुरका मुद्दा चेक अनादारदेखि कारोबारमा धोकाधडीसम्मका हुन् ।
बैंकिङ कसुरका झण्डै ६० प्रतिशत जाहेरी काठमाडौं जिल्ला अदालतमा दर्ता हुने गरेको छ । बैंक तथा वित्तीय संस्था र कारोबारी संख्या देशका अन्य स्थानमा भन्दा बढी भएकाले बैंकिङ कसुरको केन्द्र काठमाडौं नै बनिरहेको हो ।
प्रतिक्रिया दिनुहोस