काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सञ्चालक समितिको एकल निर्णयका कारण सहकारीमा समस्या आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बने । धेरै सहकारी संस्थाहरूले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निर्णय गर्नाले र संवेदनशील निर्णयहरूमा समेत सदस्यहरूलाई बाइपास गरे । यसले संस्थामा थप समस्या आइरहेको छ ।’
उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलीकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए ।
‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जबाफदेहिता, कार्य कुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनीयता जस्ता विषयहरू अपरिहार्य छन्’ उनले भने, ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ ।
सहकारी संस्था भित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निर्णय, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रूपमा अनुगमन गर्न पर्नेमा उनले जोड दिए । सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमानै उपलब्ध गराउन पर्ने उनको भनाई छ ।
‘आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तरिक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षेप बिना पूर्ण गर्नुपर्ने हुन्छ । सहकारी संस्थालाई दिगो र विश्वसनीयता संस्था भित्रका सबै पक्षको समन्वय बनाउन पर्ने हुन्छ’, उनले भने ।
संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा, एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकूल व्यक्तिलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस