aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंकहरू ग्राहकको सेवाप्रति उदासीन बन्दा नयाँ नोट सटहीमा हैरानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
बैंकहरू ग्राहकको सेवाप्रति उदासीन बन्दा नयाँ नोट सटहीमा हैरानी

काठमाडौं । सोमबारबाट नयाँ नोटको सटही सुविधा सुरु भए पनि आम मानिसले विगत वर्षहरूमा जस्तो सहज ढङ्गले नयाँ नोट प्राप्त गर्न नसक्ने अवस्था बनेको छ । विगतमा वाणिज्य बैंकका अतिरिक्त विकास बैंक, वित्तीय संस्था (फाइनान्स कम्पनी) देखि सहकारीमा समेत नयाँ नोट पाइन्थ्यो । तर, यस पटक भने वाणिज्य बैंकका पनि सीमित शाखाहरुले मात्र यो सेवा प्रवाह गर्ने सूचना प्रकाशित गरेका छन् ।

नेपाल राष्ट्र बैंकले दशैं र तिहारलगायत चाडबाड लक्षित गरी नयाँ नोट सहटी सुविधा दिएको हो। तर, आफ्ना ग्राहकलाई यस प्रकारको सेवा दिन वाणिज्य बैंक उदासीन बन्दा नयाँ नोटका पारखीहरू भने निराश बनेका छन् । उनीहरूले नोट साट्नका लागि समेत ठूलो सकस भोग्नुपर्ने र समय खर्चनु पर्ने भएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकामा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैकहरूका शाखामा नयाँ नोट साट्न पाइनेछ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साट्न पाइन्छ ।

राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागमा सोमबार कार्यालय खुल्ने समयदेखि नै नयाँ नोट सटहीको लागि सर्वसाधारणको भिड लागेको थियो । पहिलो दिनमा नै लामो समय लाइन लागेर ग्राहकहरूले नयाँ नोट सटही गरेका छन् । सो काउन्टरबाट नयाँ नोटको सतही गर्ने कार्य मंगलबार पनि जारी छ भने सेवाग्राहीको भिड अझ बढ्दो देखिएको छ ।   

मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक नरेश शाक्यले विगतका वर्षहरूमा जस्तै नयाँ नोट साट्ने चाप यस्तै नै हुने गरेको बताए । उनले भने, ‘विगतका वर्षहरूदेखि नै यस्तो चाप धेरै नै हुने गरिरहेको नै छ । राष्ट्र बैंकमा मात्रै होइन वाणिज्य बैंकहरुमा तोकिएका शाखाहरूमा समेत भिडभाड नै छ ।’

चाडबाडमा धेरै नयाँ नोट माग हुने भएकोले बैंकहरुले त्यही अनुसार नै व्यवस्थापन गरिएको उनले बताए । उनले भने, ‘अन्य समयमा पनि राष्ट्र बैंकले नयाँ नोट साटिदिने गर्छ । तर, चाडबाडमा सबैभन्दा बढी सर्वसाधरणहरुले नयाँ नोट सटहीको माग बढ्ने गर्छ । त्यही अनुसार नै हामीले व्यवस्थापन गरेका हुन्छौ ।’

तर, नयाँ नोट सटहीको लागि लामो समयदेखि लाइन बस्नु परेकोमा एक वृद्ध शंकर कार्की आक्रोशित देखिए । व्यवस्थापनबारे गुनासो गर्दै उनले भने, ‘बुथ बेग्लाबेग्लै हुनुपर्छ । वर्षौँदेखि सधैँ एउटै काउन्टर मात्रै राख्दै आएका छन् । वृद्धवृद्धाहरुको लागि बेग्लै अनि युवायुवतीहरूका लागि बेग्लै राख्नु पर्दैन ?’

साढे १० बजेदेखि नयाँ नोटको लाई बसेका उनी १ बजेसम्म उनको पालो आएको थिएन । चाबहिलबाट बालुवाटार नयाँ नोट साट्न पुगेका थिए, उनी । भिडभाड धेरै भएकोले उनले व्यवस्थापनमा सुधार हुनुपर्ने सुझाव दिए ।

हिक्मतबहादुर सिंह पनि मण्डिखाटारबाट बालुवाटार नयाँ नोट सटहीको लागि पुगेका थिए । ‘दसैँमा दक्षिणा दिन नयाँ नोट साट्न आएको हो । दसैँमा बाहेक तिहारमा देउसी भैलो खेल्नेहरूलाई समेत दिन काम लाग्ने हुनाले नयाँ नोट साट्न आएको हुँ’, उनले भने ।  

प्रतिक्रिया दिनुहोस