काठमाडौं । दशैंमा नयाँ लुगा, किनमेल र परिवारसँगको सामिप्यतासँगै जोडिन्छन्, नयाँ नोट र दक्षिणा पनि । नेपाल राष्ट्र बैंकले हरेक दशैंको अवसरमा नयाँ नोटहरू बजारमा ल्याउँछ । तर, दशैंका बेला नयाँ नोटमा रंग लगाउने तथा पैसा बोक्दा समेत कुच्याएर गोजीमा हाल्ने प्रवृत्ति धेरै रहेको राष्ट्र बैंकको ठम्याई छ ।
नेपाल राष्ट्र बैंकले नयाँ नोटको सदुपयोग गर्न तथा पूजाआजामा नोट परिचालन नगर्न अनुरोध गरेको छ । दशैंको टिकामा नयाँ नोट प्रयोग गरेर अबिर लगाउने र नयाँ नोट पुरानो बनाउने पद्धतिलाई अन्त गर्न भन्दै राष्ट्र बैंकले पूजाआजामा नयाँ नोट प्रयोग नगर्न भनेको छ ।
यस्तो छ, नोट सुरक्षित राख्नेबारे राष्ट्र बैंकले गरेको अनुरोध
–नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ ।
–नोटको जतन गर्न मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ ।
–नोटको जथाभाबी केरमेट नगरौँ ।
–आफ्नो कारोबार नोट प्रयोग गर्नुभन्दा डिजिटल बैंकिङ प्रयोग गरौँ । भुक्तानीमा कार्ड वा वालेटको प्रयोग गरौँ ।
–सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ ।
–चाडपर्व तथा अन्य समयमा पूजाआजा गर्दा वा कुनै काम गर्दा मैलिएका हातहरूले नोट नछोऔँ ।
–टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौँ ।
–नोटलाई मठ–मन्दिर वा पूजापाठ आदी धार्मिक कार्यमा प्रयोग गर्दा नोटको रंग, अबिर, पानी, दूध, रगत आदी नपारौँ । बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।
– कारोबारको क्रममा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ वा जानकारी दिऔँ ।
प्रतिक्रिया दिनुहोस