aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारी संस्थाले गर्‍यो व्यवसायिक सयपत्री फूल उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
सहकारी संस्थाले गर्‍यो व्यवसायिक सयपत्री फूल उत्पादन

स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द्र गैरेले बताए । 

“सहकारीले शेयर सदस्यहरुबीच आर्थिक कारोबार मात्रै नगरी उनीहरुलाई उत्पादनसँग जोड्न र फूलखेतीको व्यावसायिक सम्भावनााबारे जानकारी दिन फूलखेती गरेका हौंँ” उनले भने, “दीपावलीलाई लक्ष्य गरेर फूल लगाइएको र उत्पादन पनि भएकाले आर्थिकरुपमा पनि फाइदा हुने भएको छ ।”

जिल्लामा बाहिरबाट तिहार तथा अन्य कार्यक्रममा सयपत्री फूलका माला तथा थुङ्गाहरु आउने गरेकामा  यहीँ उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै लगिने अध्यक्ष गैरेले बताए । सहकारीले वालिङ–१ बौवामा पाँच रोपनी जग्गा भाडामा लिएर विभिन्न जातको सयपत्रीको बेर्ना लगाएको हो ।

पाँच रोपनी जग्गामा पहिलो पटक पाँच हजार बोट सयपत्री लगाइएको उनले बताए । दशैं, तिहारलगायत चाडपर्वलाई लक्ष्य गरेर साउनमा लगाइएको बेर्ना अहिले फूलेर रङ्गीविरङ्गी देखिएको सहकारीका सचिव दोलराज गैरेले जानकारी दिए । यहाँ उत्पादन भएको फूल अहिले पोखरामा खपत भइरहेको छ । 

सहकारीले प्रतिमाला रु एकसय २० देखि एकसय ५० सम्म बिक्री गर्दै आइरहेको छ । फूलका थुङ्गा प्रतिकेजी रु तीन सय ५० मा बिक्री भइरहेको उहाँले बताउनुभयो ।“ठूलो परिमाणमा फूल उत्पादन भइरहेको छ तर खपत थोरै तथा सोंचे अनुरुप भइरहेको छैन” सचिव गैरेले भने, “अहिले हामीले एक हजार वटा माला दिन सक्छौँ तर माग सो अनुरुप छैन ।”

जिल्लाभित्र कार्यक्रम कम हुनु, माला तथा फूलको प्रयोग कम हुनुजस्ता कारणले अहिले बजार नपाए पनि अब लगत्तै नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीसम्ममा बिक्री भइसक्ने विश्वास सहकारीको छ । सहकारीले जग्गाको भाडा, जग्गा खनजोत, मलखाद, बीउबिजन, ज्याला, उपकरण खरिदलगायतमा झण्डै रु एकलाख खर्च भएको उनले बताए । 

व्यक्तिगतरुपमा मात्रै नभइ समूह तथा सहकारीमार्फत पनि यस प्रकारका व्यावसाय गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहकारीले फूलखेती गरेको जिकिर उनको थियो । 

प्रतिक्रिया दिनुहोस