काठमाडौं । हाल सञ्चालनमा रहेका ९३ माइक्रोफाइनान्समध्ये ३२ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये नेसनल माइक्रोफाइनान्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । अझै ६१ माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छैनन् । धेरैजसो माइक्रोफाइनान्सले तिहार अघि नै लाभांश घोषणा गर्ने तयारी छन् ।
माइक्रोफाइनान्सबीच कसले बढी लाभांश घोषणा गर्ने भन्ने प्रतिस्पर्धा छ ।एउटाले घोषणा गर्न साथ अर्कोले पनि त्यही अनुसार लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको चुक्ता पुँजी बढाउने सम्भावना देखिएपछि अधिकांश माइक्रोफाइन्सले बोनस शेयर बढी र नगद कम घोषणा गरेका छन् । लाभांश घोषणा गरेका र गर्न बाँकी माइक्रोफाइनान्स कम्पनीले नगद लाभांशलाई भन्दा बोनस शेयर बढी प्राथमिकता दिएका छन् । चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बाध्यता आउन सक्ने हुँदा बोनस शेयर वितरणलाई प्राथमिकता दिएको एक माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृतले बताए । बिगत वर्षमा नगद बढी र बोनस कम दिएका माइक्रोफाइनान्स कम्पनीले यसपाली बोनस बढी र नगद लाभांश कम बितरण गरेका हुन् ।
अहिलेसम्म लाभांश घोषणा गरेका ३२ माइक्रोफाइनान्समध्ये धेरैजसोले बोनस बढी र नगद कम वितरण गर्दै छन् । सबैभन्दा बढी लाभांश घोषणा गरेको नेशनल माइक्रोफाइनान्सले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद वितरण गर्दैछ । उक्त माइक्रोफाइनान्सले चुक्ता पुँजी बढाउनुपर्ने भएकाले यस वर्ष बोनस शेयर दिएको हो ।मिर्मिरे माइक्रोफाइनान्सले पनि नगद लाभांश ज्यादै कम २.३७ प्रतिशत र ४५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी बढाउँदै छ । यसैगरी, सूर्योदयले पनि २.३४ प्रतिशत मात्रै नगद र ४४ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी बढाउने निर्णय गरेको छ ।
माइक्रोफाइनान्सले गत वर्षभन्दा यो वर्ष बढाएर धमाधम लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । अधिकांश माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् । लाभांश घोषणा गर्न बाँकी माइक्रोफाइनान्सले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । माइक्रोफाइनान्सबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ । लाभांश घोषणा गर्न बाँकी माइक्रोफाइनान्सलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ । ती माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/०७५ मा बाँडेको लाभांश भन्दा आर्थिक वर्ष २०७५/०७६ मा बाड्ने लाभांश बढाउने अनुमान गर्न गरिएको छ ।
प्रत्येक माइक्रोफाइनान्सले चुक्ता पुँजी बढाएकाले लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा तिनीहरुको नाफा बढेको माइक्रोफाइनान्सका सञ्चालकहरु बताउँछन् । चुक्ता पुँजी नबढाउने माइक्रोफाइनान्सलाई मर्जरमा लैजाने चेतावनी केन्द्रीय बैंकले दिएका कारण पनि बोनस शेयर दिएर चुक्ता पुँजी बढाउने तयारीमा पुगेका हुन् ।
माइक्रोफाइनान्स बोनस शेयर (प्रतिशत) नगद लभांश (प्रतिशत)
नेशनल ७५ ५
मिर्मिरे ४५ २.३७
सूर्योदय ४४.४८ २.३४
छिमेक २७.१२ १७.२२
उन्नती ३८.६० २.०३
निर्धन २५ १५.५३
स्वलम्बन २६ १४
ग्लोबल आइएमई ३५ १.८४
सामुदायिक ३४.४५ १.८१
स्वदेशी २० १५
मेरो ३० १.५८
समता १५ १६.५८
स्वरोजगार २६.७५ १.४१
नागवेली २६ १.३७
लक्ष्मी १५ ११.३२
स्वाभिमान २४ १.२७
किसान २४ १.१४
समिट २१.१० १.११
नेरुडे १५ ५.७९
फस्ट १७ ०.९०
चौतारी ७ १०.८९
आरएसडिसी ६ १०
नेपाल एग्रो १५ ०.७९
इन्फिनिटी १० ५.७९
स्पर्श १३ ०.६८
सबैको १३ ०.६८
आशा १२ ०.६८
कालिका १२ ०.६३
सिभिल ५ ५
गुराँस ७.६१ ०.४०
आरम्भ ८ ०.४२
गणपति ७ ०.३६
प्रतिक्रिया दिनुहोस