
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुबाट उल्लेख्य मात्रामा लगानी भएको देखिएको छ । लामो समयसम्म तरलता अभाव भोगेको नेपालको वित्तीय क्षेत्रमा तरलता सहज भएसँगै लगानी बढेको हो ।
वाणिज्य बैंकहरुको पहिलो त्रैमासको तथ्यांक अनुसार यसबिच वाणिज्य बैंकहरुले १ खर्व १५ अर्ब २२ करोड ९५ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । यससँगै असार मसान्तसम्म ४२ खर्ब ८४ अर्ब २७ करोड ९८ लाख रहेको कुल लगानी बढेर ४३ खर्व ९९ अर्ब ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ । यो बैंकको लगानीमा भएको ४.३० प्रतिशतको वृद्धि हो ।
वाणिज्य बैंकहरुले गरेको सोही लगानीको कारण सुस्त रहेको नेपालको अर्थतन्त्र केही चलायमान भएको देखिएको छ । यसबिच कित्ताकाट खुलेसँगै घर जग्गाको कारोबारले पनि केही गति लिएकोले बैंकको लगानी बढेको अनुमान गरिएको छ । लगानी बढ्नुको अर्को प्रमुख कारण भनेको घट्दो ब्याजदर पनि रहेको छ ।
हाल नेपालमा सबैभन्दा बढी लगानी गर्ने बैंक ग्लोबल आइएमई रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी सर्वाधिक न्यून रहेको देखिएको छ । ग्लोबल आइएमईले ३ खर्ब ७५ अर्ब २ करोड ७१ लाख रुपैयाँ लगानी गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ९४ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ मात्र लगानी गरेको देखिएको हो । बजारमा दोस्रो ठूलो लगानी नबिल बैंकको देखिँदा तेस्रोमा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ ।
तरलता अभावले लामो समयसम्म खुलेर कारोबार गर्न नसकेका र पछिल्लो समय अधिक तरलताको कारण अर्को समस्या भोगिरहेका वाणिज्य बैंकहरुको नाफा भने अहिले उल्लेख्य मात्रामा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सोमबार पत्रकारहरुसंगको अन्तरक्रियाको क्रममा वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी पनि बढ्न नसकेको बताए । तर, खराब कर्जाको अनुपात बढे पनि घाटा बेहोर्नुपर्ने अवस्था भने नरहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ जुन असारसम्म २.९८ प्रतिशत मात्र रहेको थियो।
प्रतिक्रिया दिनुहोस