aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

स्वीस बैंकमा पैसा थुपारेका ‘पम्फादेवी’हरूलाई दु:खद खबर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
स्वीस बैंकमा पैसा थुपारेका ‘पम्फादेवी’हरूलाई दु:खद खबर !

काठमाडौं । ‘पम्फादेवी ठकुरानी - स्वीस बैंकको पैसा फिर्ता ले !‘ वि.सं. २०४६ सालको आन्दोलनको एउटा प्रमुख नारा थियो, यो । तत्कालीन रानी ऐश्वर्य शाहलाई लक्षित गरी लगाइएको थियो यस्तो नारा, जुन ६० को दशकमा गणतन्त्रको स्थापना पछि बल्ल सुनिन छाड्यो । तर, त्यसले स्थापित गरेको एउटा भाष्य अहिले पनि नेपालमा उत्तिकै ताजा छ- देशका उच्च राजनीतिक नेतृत्व, कर्मचारी र ठूला व्यापारीले स्वीस बैंकमा पैसा राखेका छन् ।

दुई वर्ष अघि फेरि अर्को समाचारले निकै सनसनी मच्चायो । जसमा उल्लेख थियो - स्वीस बैंकमा एक वर्षको अवधिमै नेपालीहरूको पैसा दोब्बरभन्दा बढी जम्मा भयो । सो रिपोर्टमा उल्लेख भए अनुसार उच्चस्तरीय गोपनीयता राख्ने त्यहाँका बैंकमा विभिन्न नेपालीको सन् २०१९ मा २२ अर्ब ७३ करोड रुपैयाँ जम्मा रहेकोमा अर्को वर्ष त्यो बढेर ४६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी पुगेको थियो । तर, त्यो पैसा कसको हो र कसरी त्यहाँ पुग्यो भन्नेबारे धेरै कुरा खुलेन । एकीन हुन सकेन । तर, के निश्चित हो भने अनेकौं छद्म नाममा त्यहाँ सयौँ 'पम्फादेवी'हरूले अर्बौं रकम राखेका छन् ।

धेरैले बुझेको एक हदसम्म कुरा के हो भने स्वीस बैंकले गम्भीर प्रकारका अपराध, कर छली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैर कानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको छ । यो आलेखको खास विषय त्यहाँ कसले, कति र कुन स्रोतबाट कमाएको रकम राखेका छन् भन्ने होइन । बरु, ‘लोभीको धन छट्टुले खान्छ’ भन्ने नेपाली उखान चरितार्थ हुन लागेको सन्दर्भ माथि यहाँ चर्चा गरिएको छ ।

स्वीस बैंकको पैसा धरापमा !  

स्वीस बैंकहरू लामो समयदेखि वित्तीय दुनियाँमा स्थिरता र अपार सम्पत्तिको प्रतिमूर्तिका रूपमा रहँदै आएका छन् । तर, नेपाली लगायत विश्वका धेरै देशका मान्छेहरूले पैसा थन्काउने गरेका स्वीस बैंकहरू अहिले गम्भीर आर्थिक समस्यामा पर्दै गरेको समाचार रिपोर्टहरू सार्वजनिक भइरहेका छन् ।

विगतमा रहेको स्वीस बैंकको साखमा परिवर्तनको हावा चलिरहेको छ । र, स्वीस वित्तीय संस्थाहरूको भविष्य दिन प्रतिदिन अन्धकार देखिंदैछ। यी एक समयका शक्तिशाली बैंकहरू ढल्न लागेका त हैनन् भन्ने चर्चा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा चल्न थालेको छ ।

स्वीजरल्याण्डको बैंकिङ क्षेत्रले वित्तीय गोप्यताको किल्लाको रूपमा राखेको प्रतिष्ठा प्रतिष्ठा अब सकिएको छ । जसले गर्दा विश्वका सम्भ्रान्तहरूलाई आफ्नो सम्पत्ति त्यहाँको बैंकलाई सुम्पन आकर्षित गरिरहेको थियो त्यो सामर्थ्य र विश्वास त्यहाँका बैंकले गुमाइसकेका छन् । फलस्वरूप, स्वीस बैंकिङको स्वर्ण युग अब समाप्त हुन लागेको टिप्पणीहरू सुरु भएका छन् ।

यसरी संसारभरका कालो धन चलाएर व्यापार गरिरहेका स्वीस बैंकहरू त्यस्तो धनको आपूर्ति कम हुने बित्तिकै ढल्न सक्ने सहज अनुमान अहिले लगाइन थालिएको हो । यदि त्यस्तो भयो भने हाम्रै देशका पनि धेरै छद्म भेषी निक्षेपकर्ताहरूको स्वीसरल्याण्ड पुगेको धन पानीमा बग्न सक्छ ।

किन भयो त्यस्तो ? 

स्वीस बैंकहरूको आधारभूत गल्ती भनेको तिनीहरूले राख्दै आएको गोपनीयता त्याग्ने निर्णय थियो। यो भूकम्पीय परिवर्तन पारदर्शीताको लागि गरिएको ठूलो अन्तर्राष्ट्रिय दबाबमा आएको थियो। विश्वका धनीहरूका लागि आफ्नो कालो धन लुकाउने थलोका रूपमा स्वीस बैंकहरूको आकर्षण अब सकिएको छ।

यसको अर्को चुनौतीपूर्ण कारण भनेको संयुक्त राज्य अमेरिकाबाट उत्पन्न भएको छ, जहाँको सरकारले स्वीस वित्तीय संस्थाहरूलाई अत्यधिक जरिवाना लगाउने हरेक उपलब्ध अवसरलाई चलाखीपूर्वक प्रयोग गरेको छ। यसको प्रमाणका रूपमा विदेशी खाता कर अनुपालन ऐन (फटका) लाई लिन सकिन्छ। स्वीस बैंकहरूलाई अमेरिकी खात धारकहरूसँग मात्र सम्बन्धित नभई जटिल वित्तीय विवरणहरू खुलाउन बाध्य पार्ने अमेरिकाको यो विधायीकी उपाय हो । यो कानुनले धेरै बैंकहरूलाई अमेरिकी ग्राहकहरूका साथै मध्य पूर्व वा एसियाका मानिसहरूसँगको आफ्नो सम्बन्धको पुनः मूल्याङ्कन गर्न बाध्य पारेको छ।

अहिले त्यहाँका बैंकहरूले एसियाका ग्राहकहरूलाई पनि फटका सम्बन्धित कागजातहरू कार्यान्वयन गर्न बाध्य पार्छन्। जब कि उनीहरूको अमेरिकासँग कुनै ठोस सम्बन्ध नहुन सक्छ। स्वीस बैंकहरूले भविष्यमा जरिवाना लाग्ने आशङ्कामा आफ्ना घरेलु ग्राहकहरूलाई पनि फाटका कागजातहरूमा हस्ताक्षर गर्न अनिवार्य गरेको छ। यसले स्वीस बैंकहरू र तिनीहरूका ग्राहकहरू बिचको सम्बन्धमा अन्तर्निहित विश्वासको आधारलाई मेटाएको छ। किनकि त्यस्ता कागजातमा हस्ताक्षर गरेपछि त्यहाँ गोप्यताको प्रश्न नै उठ्दैन । तिनीहरूले कुनै पनि बेला विवरणहरू सार्वजनिक गर्न सक्छन् । 

यसरी गुमाए विश्वास

स्वीस बैंकहरूको युरोपियन युनियनसँग आफुलाई पङ्क्तिबद्ध गर्ने निर्णयले एसियाका धनी ग्राहकहरूलाई टाढा बनाएको छ। विकसित भूराजनीतिक परिदृश्यमा स्वीस संस्थाहरूको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पालनाको अप्रत्याशितताले यी सम्बन्धहरूमा रहेको विश्वासलाई मेटाएको छ। किनकि ती बैंकहरूले हालै मात्र पनि रुसका खाताहरू रोक्का गर्ने काम गरेका छन् ।

फाइनान्स टाइम्ससँगको एक अन्तर्वार्तामा प्रख्यात स्वीस बैंकर बोरिस कोलार्डीले स्वीकार गरेका छन्, ‘बर्नले रुस विरुद्ध इयुको सबै प्रतिबन्धहरूसँग मेल खाने नीति अघि सार्दा एसियाली ग्राहकहरू स्तब्ध भएका थिए ।’ उनले थपे, ‘जो कोहीलाई थाहा छ, सबै वास्तविक फोहोर पैसा दुबई र मध्यपूर्वमा गएको छ।’ जसले गर्दा स्वीस बैंकहरू अब विश्वव्यापी वित्तको उथलपुथलपूर्ण समुद्रमा स्थिर बन्दरगाहको रूपमा देखिँदैनन् ।

त्यसबाहेक, भर्खरैको वित्तीय तथ्याङ्कले स्वीस बैंकहरूको लागि निराशाजनक चित्र चित्रण गरेको छ। स्वीस बैंकर्स एसोसिएसन (एसबिए) को अनुसार सन् २०२२ मा कुल वार्षिक नाफा १६.३ प्रतिशतले (लगभग ७.२ अर्ब अमेरिकी डलर) ले घट्यो । त्यसमाथि अघिल्लो वर्ष ढलेको क्रेडिट स्वीस बैंकलाई अधिग्रहण गर्ने युबिएस बैंकलाई अहिले त्यो अधिग्रहण निकै भारी परेको समाचारहरू पनि सार्वजनिक भइरहेका छन् ।

अन्तमा, एक पटक सम्मानित स्वीस बैंकिङ क्षेत्र अहिले चौराहामा उभिएको छ । र, यसको भविष्य निश्चित छैन । जसले संसारभरका कालो धन थुपार्नेहरूलाई चिन्ता थपेको छ । भ्रष्ट्रहरूको भरपर्दो सारथि र विश्वासिलो मित्रका रूपमा लामो समय सम्म काम गरेका स्वीस बैंकहरू समस्यामा परेको खबर पक्कै पनि नेपालमा कुख्याति कमाएका ‘पम्फादेवी’हरूका लागी सुखद समाचार होइन ।

प्रतिक्रिया दिनुहोस