
काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीकहाँ पुर्याएका छन् । झापाको बिर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) को शाखाका सहायक प्रमुख दिनेश पनेरुलाई प्रहरी जिम्मा लगाएको प्रसाईंले बताएका छन् ।
बैंकका कर्मचारी अपहरण गरेको खबर फैलिएपछि आर्थिकन्यूजसँग कुरा गर्दै प्रसाईंले भने, ‘सहुलियतपूर्ण कृषि कर्जा दिने भनी सर्वसाधारणलाई आश्वासन दिए, तर कर्जा प्रवाह गरेनन्, गोठ बनाएर गाईबस्तु हालेका किसान झुण्डिएर मर्ने स्थिति बन्यो, त्यसैले छलफलको लागि उसलाई प्रहरीकहाँ पुर्याएको हुँ ।’
बैंकबाटै कर्मचारीलाई अपहरण गरेको भन्ने आरोप अस्वीकार गर्दै उनले भने, ‘बैंकबाट होइन, घरबाट उठाएका हौं । भात खाँदै रहेछन्, समातेर पुलिसचौकी ल्यायौं ।’ गोठ राख्न लिएको कर्जाको ब्याज तिरिदिन आफूले आठ लाख रुपैयाँ पीडित किसानलाई दिएको पनि उनले दाबी गरे ।
बैंकले पुरानो कर्जाको किस्ता नियमित बुझाएमा थप ऋण दिने भनी किसानलाई आश्वासन दिएको, पछि कर्जा नै नदिएर झुक्याएपछि बैंकका कर्मचारीलाई थप कर्जा नदिनुको कारणबारे प्रहरीको रोहबरमा सोधपुछ गर्न ल्याइएको प्रसाईंको भनाई छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस