aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बैंकका कर्मचारीलाई नियन्त्रणमा लिने प्रसाईँका कार्यकर्तालाई कारबाही गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० मंसिर २०८०
बैंकका कर्मचारीलाई नियन्त्रणमा लिने प्रसाईँका कार्यकर्तालाई कारबाही गर्न माग

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ताले बैंकका कर्मचारी उठाएको विषयमा वित्तीय संस्था सम्बद्ध संघले कारबाहीको माग गरेको छ । बुधबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट एशोसिएसन नेपाल र नेपाल वित्तीय संघले संयुक्त विज्ञप्ति निकाल्दै कारबाहीको माग गरेको हो ।  

‘एक वाणिज्य बैंकको बिर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दछौँ । आफ्ना ग्राहकहरूलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थितीमा समेत अग्रपङ्क्तिमा खटिएर काम गर्ने कर्मचारीहरू माथि यस प्रकारको दुर्व्यवहार अत्यन्त निन्दनीय छ । वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू भय रहित रूपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरूसँग माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

मंगलबार प्रसाईँका कार्यकर्ताले नेपाल इनभेष्टमेन्ट मेगा बैंकको बिर्तामोड शाखाका सहायक प्रमुख दिनेश पनेरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । ऋणको विषयलाई लिएर उनीहरूले पनेरुलाई नियन्त्रणमा लिएका थिए । 

यो पनिः दुर्गा प्रसाईं भन्छन्‌, ‘बैंकका कर्मचारी उठाएका हौं, अपहरण गरेका हैनौं’

पछिल्लो समय केही व्यक्ति/समूहहरूले बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीहरू प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरू, अराजक व्यवहार र आक्रमणले बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको समेत जनाइएको छ । यस्ता गैर जिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्नु पर्ने माग छ । 

 

प्रतिक्रिया दिनुहोस