
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २० करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल माघ ७ गते परिपक्व हुनेछ ।
१८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७७ बैशाख ९ गते परिपक्क हुन्छ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ कात्तिकमा परिपक्क हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस