
काठमाडौं । सांसद गगनकुमार थापाले राष्ट्र बैंकको स्वायत्तता गुम्दै गरेकोमा चिन्ता व्याख्त गरेका छन् । विहीबार आसन्न तिहार, नेपाल सम्बत् र छठ पर्वका अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक, केन्द्रीय समितिले २०७६ कात्तिक ६ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सासद थापाले यस्तो बताएका हुन ।
नेपाल राष्ट्र बैंकका कर्मचारीबाट राष्ट्र बैंकको स्वायत्तता कटौती हुँदै गएको सन्दर्भ उठेको सन्दर्भमा सांसद थापाले मुलुकको केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकको स्वायत्ततालाई अझ सशक्त तुल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, “कसैले चाहँदैमा राष्ट्र बैंकको स्वायत्तता त्यति सजिलै गुम्न सक्दैन । बैंकको स्वायत्तताको निम्ति हामी सबै एक जुट हुनुपर्छ ।”
सो अवसरमा शुभकामना मन्तव्य राख्दै सांसद गगनकुमार थापाले दुई तिहाई बहुमत भएर पनि वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशिल तुल्याउन नसकेको टिप्पणी गरेका थिए । उनले भने, “सरकारको खर्च, राजस्व संकलन, वैदेशिक लगानी लगायतका आर्थिक सूचकहरु हेर्दा उत्साहित हुने अवस्था छैन ।” नागरिकले वर्तमान सरकारबाट समृद्धि र विकासको अपेक्षा राखेता पनि सरकारले त्यसको सदुपयोग गर्न नसकेको बरु प्राप्त अवसरलाई समेत गुमाउन लागेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले बैंकका कर्मचारी युनियनहरु व्यवस्थापन पक्षको निम्ति मार्गदर्शक रहेको उल्लेख गर्दै संस्थाको उन्नतिको लागि रचनात्मक सहयोग गर्न युनियनलाई आग्रह गरे ।
सो अवसरमा डेपुटी गभर्नर शिबराज श्रेष्ठले राष्ट्र बैंक विशिष्ट उद्देश्य लिएको संस्था रहेको उल्लेख गर्दै बैंकले अवलम्बन गरेको नीतिका कारण वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव राजीव शर्मा रेग्मी, बरिष्ठ उपाध्यक्ष माधवप्रसाद अधिकारी, पूर्व अध्यक्ष डा. सञ्जय मिश्र, संघको राष्ट्रि समितिका अध्यक्ष पदमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस