
काठमाडौं । जनता बैंक नेपालका कर्मचारीहरु लगानीकर्ता खोज्दै शेयर ब्रोकरको कार्यालयमा धाउन थालेका छन् । ग्लोबल आइएमई बैंकसँग मर्जर हुन लागेको जनता बैंकको आगामी मंसिर २ गते विशेष साधारण सभा बोलाइएको छ । दुवै बैंकले एकै दिन विशेष साधारण सभा बोलाएर मर्जरको प्रस्ताव पारित गर्दै एकीकृत कारोबार गर्ने भएकाले मंसिर २ गतेको विशेष साधारण सभा दुवै बैंकका निम्ति महत्वपूर्ण रहेको छ । तर, विशेष साधारण सभामा कोरम नपुग्ने भय तथा मर्जरको प्रस्ताव अस्वीकृत हुने त्रासले अहिले जनता बैंक नेतृत्वले ब्रोकर कार्यालयहरुमा कर्मचारी परिचालन गरी जनता बैंकका शेयर लगानीकर्ताहरुसँग प्रोक्सी लिन खटाइएको स्रोतले जनाइएको छ ।
अहिले ५ हजार कित्ताभन्दा बढी शेयर हुने लगानीकर्ताबाट प्रोक्सी लिन एक दर्जनभन्दा बढी कर्मचारी परिचालित भएको स्रोतले जनायो । आवश्यक परे पछि त्योभन्दा बढी कम शेयर भएका शेयर होल्डरबाट पनि प्रोक्सी लिन सम्पर्कमा राखिएको छ । ब्रोकरको दैलो चहारेर लिइएको प्रोक्सीले बहुमत वा कोरम पुगेको खण्डमा थोरै शेयर हुनेलाई नखोजिने नपुगेको अवस्थामा साना लगानीकर्ताबाट प्रोक्सी लिने तयारी बैंक नेतृत्वको छ ।
दिनहुँ ब्रोकर कार्यालयमा गएर जनता बैंकका शेयर होल्डर सोधखोज गर्दै आएका ती कर्मचारीले प्रोक्सी दिन अनुनय विनय गर्नु परिरहेको छ । कतिपयले सजिलै प्रोक्सी दिने गरे पनि अधिकांशले कर्मचारीलाई हप्कीदप्की समेत गर्ने गरेको प्रत्यक्षदर्शीले बताए ।
‘विशेष साधारण सभामा सहभागी हुने नहुने र प्रस्तावको पक्ष विपक्षमा मत दिने हाम्रो अधिकार हो । सञ्चालक समितिले जस्तोसुकै प्रस्ताव ल्याए पनि पारित गराउन ब्रोकर कार्यालय धाएर प्रोक्सी पाइन्छ ।’ भन्दै लगानीकर्ताले कर्मचारीको सातो लिएका थिए । विचरा कर्मचारीसँग रातो मुख लगाउनुको विकल्प थिएन । सञ्चालक समिति र बैंकका हाकिमको नियत नबुझेका उनीहरुले लगाएको काम गरेका हुँदा शेयर होल्डरले गरेको प्रश्नको जवाफ थिएन ।
प्रतिक्रिया दिनुहोस