aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एटीएम ह्याकबारे सिंगापुरको टोलीले प्रतिवेदन बुझाउँदै, सुरक्षा व्यवस्थामा औंला उठायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
एटीएम ह्याकबारे सिंगापुरको टोलीले प्रतिवेदन बुझाउँदै, सुरक्षा व्यवस्थामा औंला उठायो

काठमाडौं । एटीएम प्रणाली ह्याक सम्बन्धमा सुरक्षा व्यवस्था कमजोर भएको निष्कर्षसहितको प्रतिवेदन सिंगापुरको फरेन्सिक भनिने टोलीले बुझाउने तयारी गरिरहेको छ । 

उक्त टोली एटीएम ह्याक सम्बन्धमा अध्ययन गर्न गत भदौ १८ गते नेपाल आएको थियो । नेपालले एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल ल्याएको थियो । टोली गत भदौ १९ गतेदेखि अध्ययन गर्न थालेको थियो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने भन्दै टोली सिंगापुर फर्किको थियो ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहमा उक्त टोली नेपाल आएको थियो । ‘फरेन्सिक टोलीले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ,’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने–‘उक्त टोलीले सुरक्षा व्यवस्था कमजोर रहेको प्रतिवेदन दिन तयारी गरेको छ ।’ उक्त टोलीले ‘ल्याब टेस्ट’ लगायतको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो ।

यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ पत्ता लगाएको छ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने भएको छ ।

उक्त घटनाको अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’ बाट पनि टोलीले पनि गरेको छ । फरेन्सिक र भिसा दुवै टोलीको अध्ययन गरी प्रतिवेदन बुझाउन लागेक हुन् ।घटनाको अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रको संयोजकत्वमा एक समिति गठन गरेको थियो  । समितिले तीन दिन लगाएर प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमा वास्तविक के कारणले घटना भएको हो त्यो पत्ता लगाउन सकेको थिएन् । उक्त समितिले पनि सुरक्षा व्यवस्थाको कमी भएको प्रतिवेदन बुझाएको थियो । एटीएम ह्याक घटनामा विभिन्न १३ वटा बैंकको एटीएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ ।

विभिन्न ९ वटा बैंकको एटीएम कार्डमार्फत १३ वटा बैंकको एटीएम मेसिनमार्फत उक्त रकम चोरी भएको हो  । यो रकम नेपाल र भारतको एटीएमबाट चोरी भएको प्रतिवेदनमा उल्लेख छ  । प्रतिवेदनका अनुसार नेपालबाट १ करोड ८९ लाख र भारतबाट १ करोड ६९ लाख रुपैयाँ चोरी भएको देखिन्छ । नेपालबाट चोरी भएकोमध्ये करिब सबैजसो रकम प्रहरीले जफत गरिसकेको छ । पैसा निकाल्ने सीमा घटाइएको छ ।

पहिले दिनमा १ लाखसम्म एटीएमबाट निकाल्न सकिने व्यवस्था थियो भने अहिले ६० हजार रुपैयाँ मात्र निकाल्न सकिने व्यवस्था गरिएको छ । एटीएमबाट पैसा निकाल्ने सीमा घटाउनुपर्ने सुझाव अध्ययन प्रतिवेदनमा दिइएको थियो । त्यही अनुसार सीमा घटाइएको हो । 

एकैपटक ठूलो रकम निकाल्न पाउने सुविधाले जोखिम बढेको भन्दै अध्ययन समितिले प्रतिवेदनमा उक्त सुझाव दिएको थियो । राष्ट बैंकले पछिल्लो समय एटीएम बुथमा सुरक्षा गार्ड राख्न समेत निर्देशन दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस