
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकमा आएको कर्जाको माग पुराण लगाउन त पक्कै होइन भनेर प्रश्न गरेका छन् । अर्थमन्त्री खतिवडाले विकास हुँदै भएन भनेर गुनासो गर्ने समूहलाई इंकित गर्दै उक्त कुरा बताएका हुन् ।
कामना सेवा विकास बैंकको १३औं वार्षिक उत्सबको अवसरमा बोल्दै खतिवडाले भने–‘नेपालमा विकासको गति एकदम सुस्त भयो , विकासको वातावरण बनेन भन्ने एउटा सानो समूहको गुनासो छ। म उहाँहरुलाई प्रश्न सोध्न चाहन्छु ,यदि त्यस्तो हो भने बैंकमा कर्जाको लागि खातमाथि खातको निवेदन कसरी पर्ने हो ? त्यति धेरै कर्जाको माग के का लागि हो , पुराण लगाउन त पक्कै होइन होला । ’
अर्थमन्त्री खतिवडाले सरकारले व्यवसाय गर्ने वातावरण बनाएकै कारणले बैंकमा कर्जाको माग हजारौंको संख्यामा आएको भन्दै सरकारको बचाउसमेत गरे । बैंकमा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा करिब २० प्रतिशतको दरले निक्षेप बढ्दै गयो भने कर्जाको माग धान्न सक्ने स्थिति रहेको छ भन्दै खतिवडाले भने–‘त्यो मागलाई धान्नका लागि बैंकले आफ्नो क्षमता बढाउनुपर्ने तथा पुँजी बढाउनुपर्ने आवश्यकता एकातिर छ भने त्यसको अतिरिक्त लगानीको विश्वासनियता बढाउनुपर्ने देखिन्छ । ’
त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास बैंकहरुको लागि कानुन सुधार गर्ने समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस