aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

वाणिज्य बैंकहरुको नाफा उच्चदरमा वृद्धि हुन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
वाणिज्य बैंकहरुको नाफा उच्चदरमा वृद्धि हुन थाल्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अहिलेसम्म १२ वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । तीमध्ये धेरै जसो वाणिज्य बैंकको नाफा उच्च दरले वृद्धि भएको छ । केही बैंकको मात्रै नाफा घटेको छ ।

आजमात्रै वित्तीय विवरण सार्वजनिक गरेको एभरेष्ट बैंकले ६९ करोड ८ लाख खुद नाफा गरेको छ । गत वर्षभन्दा यस बैंकले ९ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष उक्त बैंकले ६३ करोड ३३ लाख नाफा गरेको थियो।

यसैगरी कृषि विकास बैंकले तीन महिनामा ६० करोड ७३ लाख नाफा गरेको छ । गत वर्षभन्दा यस बर्ष १० दशमलव १३ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष उक्त बैंकले ५५ करोड १४ लाख नाफा गरेको थियो ।

वित्तीय विवरण प्रकाशन गर्ने बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । यो बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड रुपैयाँ नाफा गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो तीन महिनामा ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।

प्राइम कमर्सियल बैंकले चालू वर्षको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा १३.३८ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ५८ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २७.२४ रुपैयाँ छ।

त्यस्तै प्रभुले चालू आवको तीन महिनामा ६२ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ५.०१ प्रतिशतले नाफामा सुधार गरेको हो। बैंकले गत वर्ष यो अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो।

सानिमा बैंकले पहिलो तीन महिनामा ५९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्ष ५१ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो।

चालू आवमा नेपाल बैंकको भने नाफा घटेको छ । गत आवको पहिलो त्रैमासिक अवधिमा ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको बैंकको चालू आवमा ४० प्रतिशतले गिरावट आएको छ। बैंकले चालु आवमा ५८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ।

यस्तै अर्को वाणिज्य बैंक सिद्धार्थले चालू आवको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसले ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

अर्को वाणिज्य बैंक लक्ष्मीले ४० करोड १९ लाख ५० रुपैयाँ नाफा गरेको पहिलो त्रैमासिक वित्तीय विवरणले देखाउँछ । यो बैंकले गत आवको सोही अवधिमा ३० करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो । 

यसैगरी, चालु आवको असोज मसान्तसम्म सनराइज बैंकले ३७ प्रतिशतले नाफा वृद्धि गरेको छ। बैंकले यो वर्ष ४५ करोड रुपैयाँ नाफा गरेको छ। उसले पोहोर ३३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस्तै, जनता बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो वर्षका तुलनामा १३.७९ प्रतिशतले नाफा बढाएको हो। बैंकले अघिल्लो आवमा ३२ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो।

साथै, सिटिजन्स बैंक यस अवधिमा ३४ करोड ९१ लाख नाफा गरेको छ । उक्त बैंकले गत वर्ष ४२ करोड ८८ लाख नाफा गरेको थियो । गत वर्ष भन्दा यस बैंकले नाफा घटाएको छ ।


 

प्रतिक्रिया दिनुहोस