aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैंकमा ऋणको माग बढ्न थाल्यो, निक्षेपको स्थिति न्यून

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
बैंकमा ऋणको माग बढ्न थाल्यो, निक्षेपको स्थिति न्यून

काठमाडौं । बैंकमा ऋण लिन आउनेको संख्या बढ्न थालेको छ। दशैं, तिहार, छडलगायतका चाडपर्व सकिएकाले ऋण लिएर व्यवसाय गर्ने चाहना राखेर बैंकमा ऋण लिन आउने बढ्दा घुइँचो देखिएको बैंकरहरु बताउँछन् । तर, बैंकमा रकम राख्ने कमी भएकाले ऋण माग्नेले पर्याप्त पैसा पाएका छैनन् ।

पछिल्लो समय बैंकमा ऋण माग्ने बढी र पैसा जम्मा गर्नेको कमी आएको छ । चालू आर्थिक वर्षकोे साउनदेखि कर्तिक २२ गतेसम्मको तथ्यांक हेर्ने हो भने कुल १ खर्ब ३३ अर्ब ऋण लगानी भइसकेको छ । तर, निक्षेप संकलन ८७ करोडमात्रै भएको छ । यसले पनि के पुष्टि गर्छ भने बैंकमा निक्षेप संकलन गर्ने भन्दा ऋण लिन आउनेको लर्को लगेको छ । बैंकहरुले अहिलेसम्म २६ खर्ब ३१ अर्ब ऋण लगानी गरिसकेका छन् । निक्षेप संकलन भने २९ खर्ब ६६ अर्ब गरेका छन् ।

अहिले बैंकलाई लगानीयोग्य रकम (तरलता) को अभाव छ । यस्तो बेलामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देखि सामान्य कर्मचारी र बैंक सञ्चालकसम्म निक्षेप संकलन कसरी गर्ने भन्ने चिन्तामा छन् ।

लगानीयोग्य रकमको अभावका कारण बैंकको व्यापार व्यवसाय नै खुम्चिने अवस्था आएको छ । लगानी गर्ने पैसाको अभाव हुँदै गएपछि बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा नै चलेको छ । भित्रभित्रै अर्को बैंकले दिने भन्दा बढी ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन् ।

सरकारले चालू आर्थिक वर्षमा विकास बजेट खर्च गर्न नसक्दा राष्ट्र बैंकको ढुकुटीमा त्यस्तो रकम थन्किएका कारण बैंकलाई लगानीयोग्य रकमको अभाव भएको हो । चालू आर्थिक वर्षको पहिलो चौमासिक सकिनै लाग्दा ६ प्रतिशतभन्दा कम विकास बजेट खर्च भएको छ । 

सरकारले  चालू आवमा ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेट छुट्याएकोमा करिब २२ अर्ब ३६ करोड रुपैयाँमात्रै खर्च भएको छ । सरकारी ढुकुटीमा जम्मा भएर बसेको रकम खर्च हुने हो भने तरलता अभाव सहज हुने बैंकरको भनाइ छ । 

अहिले करिब पौने २ खर्ब रुपैयाँ सरकारी ढुकुटीमा रहेको रकम खर्च नभएकै कारण समस्या आएको उनीहरुको बुझाइ छ । अघिल्लो वर्षदेखि नै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तारमा देखिएको असन्तुलन कायमै छ । चालू आर्थिक वर्ष शुरुमा तरलताको अभाव केही कम भएजस्तो देखिए पनि त्यसपछि फेरि चर्किएको छ । बैंकमा देखिएको लगानीयोग्य रकमको अभाव कम गर्न पनि बैंकहरुले विदेशी बैंकसँग ऋण लिन शुरु गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट विदेशबाट ऋण ल्याउनका लागि नीतिगत रुपमा बाटो खोली दिए पनि उनीहरुले पैसा ल्याउन सकिरहेका छैनन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यो बाटो प्रयोग गरेर पनि बैंकहरुले ऋण ल्याउन सकेका छैनन् ।

ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । निक्षेप जति संकलन हुन्छ त्यत्ति नै ऋण प्रवाह भइहाल्ने स्थिति छ । राजनीति स्थायित्व, शान्ति सुरक्षा पहिलेको तुलनामा सुधार हुँदै गएकोलगायतका कारण बैंकबाट ऋण लिएर लगानी गर्ने क्रम तीव्र रुपमा बढेको बिज्ञहरुको भनाइ छ । 

लगानीको वातावरण सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत व्यापारिकलगायत प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाइ छ  पछिल्लो समय कर्जाको माग अत्यधिक हुन थालेको एक बैंकरले बताए । ‘आपूर्तिभन्दा ऋणको माग अत्याधिक बढी छ,’ उनले भने–‘ माग र आपूर्तिबीचको असन्तुलनले समस्या पारेको छ ।’

निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु लगानीयोग्य रकमको समस्यामा छन् । धेरैजसो बैंकको कर्जा–निक्षेप–पुँजी अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ । अर्थात एक सय रुपैयाँ बैंकहरुले सर्वसाधारबाट निक्षेपको रुपमा संकलन गरे भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउँदैनन् । एक सय रुपैयाँको निक्षेप संकलन गर्दा २० रुपैयाँ नेपाल राष्ट्र बैंकको खातामा राख्नुपर्छ । अहिले बैंकहरुले लगानी गर्न सक्ने जति अर्थात ८० प्रतिशत नै लगानी गरिसकेका छन् । त्योभन्दा बढी लगानी गरे राष्ट्र बैंकले कारबाही गर्छ । केही बैंकबाहेक धेरै बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस