
काठमाडौं । बैंकहरुले लगानीयोग्य रकम अभाव भन्दै ऋण दिन मानिरहेका छैनन् । सर्वसाधारण भने बैंकमा पैसा नभए कहाँ हुन्छ त भन्दै आक्रोशित बनिरहेका छन् । बैंकले लगानी गर्ने पैसाको अभाव छ भन्ने र सर्वसाधारणले बैंकमा पैसा नभए कहाँ हुन्छ भन्ने दुई पक्षबीचको द्वन्द्व अहिले चलिरहेको छ । यो द्वन्द्वले के नेपालको अर्थतन्त्रमा कतै संरचनागत समस्या नै त शुरु भएको होइन भन्ने प्रश्नसमेत जन्माएको छ ।
आर्थिक वर्ष शुरु भएकै महिना नेपालका बाणिज्य बैंकहरुसंँग लगानीयोग्य रकमको अभाव छ भन्ने समाचार सार्वजनिक भएका थिए । जुन स्वाभाविक थिएन र केही हदसम्म अपत्यारिलो पनि लाग्थ्यो । तर, त्यसपछिका महिनामा समेत त्यही स्थिति रह्यो । हुँदाहुँदै नयाँ आर्थिक वर्ष शुरु भएको चौथो महिना बितिसक्दा पनि प्रश्न उही छ ।
आखिर पैसा कहाँ गयो त ?
नेपालको मौद्रिक प्रणालीमा ज्ञान भएका एक जना बिज्ञलाई यही प्रश्न गर्दा उनले बैंकमा लगानी गर्ने पैसा नभएको स्वीकार गरे । ती बिज्ञले विदेशमा रहेका नेपालीले जति रकम रेमिट्यान्समार्फत पठाउन पाउने हो, त्यति रकम नपठाएको कारणले यस्तो अवस्था आएको तर्क राखे । यहाँको पैसा चाहिँ कहाँ गयो त ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘नेपालको पैसा धेरै मात्रमा अनौपचारिक क्षेत्रमा नै अल्मलिएर बसेको छ ।’ उनले अगाडि थपे–‘सहकारीमा रहेको रकम बैंकिङ प्रणालीमा नआएर सहकारीमै घुमिरहेकाले पनि बैंकमा पैसा नदेखिएको हो ।’
विज्ञका अनुसार यसरी सहकारीमा पैसा घुमिरहेको अवस्थालाई छायाँ बैंकिङ भन्ने गरिन्छ । ‘नेपालमा त्यसले मलजल पाएको अवस्था छ,’ उनले बताए । त्यस अलावा सरकारले बजेटमा छुट्याइएको रकम समयमा खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा नै थन्किएकाले पनि बैंकमा लगानीयोग्य रकमको अभाव भएको उनको धारणा थियो।
तथ्यांकले के भन्छ ?
बिज्ञले भनेजस्तै विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स रकम आउने क्रममा केही कमी आएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात अघिल्लो वर्षको तुलनमा ०.३ प्रतिशतले कमी आएको छ ।
उक्त अवधिमा १ अर्ब ५३ अर्ब ७३ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको त्यही अवधिमा १ खर्ब ५४अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत वर्षभन्दा ४७ करोड कम रकम रेमिट्यान्समार्फत यस वर्ष भित्रिएको छ ।
विदेशमा बस्ने नेपालीले उता कमाएको रकम उत्तै राख्न खोजेकाले पनि बैंकमा लगानीयोग्य रकमको कमी हुन यसले पनि मद्दत पुगेको हो । भन्ने भनाइलाई यसले केही हदसम्म समर्थन गर्छ । तर, ठूलो रकमको अन्तर नदेखिनुले यही कारण मात्र अभाव भएको हो भन्न सक्ने अवस्था छैन ।
यसैगरी विदेशमा हुन्डीबाट रकम गएका कारण पनि नेपाली बैंकमा पैसाको कमी भएको बताइन्छ । यसमा चाहिंँ केहि सत्यता पक्कै छ किनकी नेपालमा लगानीको वातावरण भएन भन्दै गुनासो गर्नेहरुले ‘क्यापिटल फ्लाई’ गराएनन् होला भन्न सकिँदैन ।
पछिल्लो समय सहकारीको रकम बैंकमा नआउने तर भित्र–भित्रै कारोबार हुने गरेको खुलासा भएको छ । कतिपय सहकारीमा नसोचेको रकम जम्मा भएको समेत देखिएको स्थितिमा यो तर्क स्वाभाविक देखिन्छ । यसरी पछिल्लो समय मौलाएको छायाँ बैंकिङले पनि बैंकमा रकम अभाव हुन प्रोत्साहन गरेका बताइन्छ । सहकारीको रकम जग्गामा जाने र जग्गा बिक्री भएको रकम फेरि सहकारीमा आएर बस्ने भएकाले पनि बैंकमा लगानी गर्ने पैसा नभएर व्यवसायीलाई ऋणको रुपमा प्रवाह गर्न बैंकहरु असमर्थ बनेका हुन्।
लंकामा सुन छ, कान मेरो रित्तै
सरकारले चालू आर्थिक वर्षमा विकास बजेट खर्च गर्न नसक्दा राष्ट्र बैंकको ढुकुटीमा त्यस्तो रकम थन्किएका कारणले पनि बैंकलाई लगानीयोग्य रकमको अभाव भएको हो । चालू आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि ६ प्रतिशतभन्दा कम विकास बजेट खर्च भएको छ ।
सरकारले चालू आवमा ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेट छुट्याएकोमा करिब २२ अर्ब ३६ करोड रुपैयाँमात्रै खर्च भएको छ । सरकारी ढुकुटीमा जम्मा भएर बसेको रकम खर्च हुने हो भने तरलता अभाव सहज हुने बैंकरको भनाइ छ । तर, अहिले बैंकरहरु उही पुरानो नेपाली उखान ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ लाई स्मरण गरेर बस्न बाध्य छन् ।
बजेटमा छुट्याइएको रकम प्रत्येक महिना खर्च नहुने र त्यस्तो रकम सरकारी ढुकुटीमा बस्ने हुनाले पनि बैंकमा लगानी गर्ने पैसाको अभाव भएको भन्ने तर्क पनि सान्दर्भिक नै देखिन्छ । किनकी विकास निर्माणका कार्य भइरहेका छैनन् । कतिपय सम्पन्न भइसकेका योजनाको समेत भुक्तानीमा ढिलाइ हुने गरेको तथ्य स्मरण गर्नुपर्ने हुन्छ ।
ऋण माग्नेको लर्को
पछिल्लो समय बैंकमा ऋण लिन आउनेको घुइँचो लागेको छ । तर, बैंकले भने पैसा छैन भन्दै फर्काउँदै गरेका छन् । बैंकमा ऋण माग्नेको संख्या बढी र पैसा जम्मा गर्नेको कमी देखिएको छ । चालू अर्थिक वर्षकोे साउनदेखि कार्तिक २२ गतेसम्मको तथ्यांक हेर्ने हो भने कुल १ खर्ब ३३ अर्ब ऋण लगानी भइसकेको छ । तर, निक्षेप संकलन ८७ करोडमात्रै भएको छ । यसले पनि के पुष्टि गर्छ भने बैंकमा निक्षेप संकलन गर्ने भन्दा ऋण लिन आउनेको लर्को लामो छ ।
ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । निक्षेप जति संकलन हुन्छ त्यत्ति नै ऋण प्रवाह भइहाल्ने स्थिति छ । राजनीति स्थायित्व, शान्ति सुरक्षा पहिलेको तुलनामा सुधार हुँदै गएको लगायतका कारण बैंकबाट ऋण लिएर लगानी गर्ने क्रम तीव्र रुपमा बढेको बिज्ञहरुको भनाइ छ ।
लगानीको वातावरण सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत् व्यापारिकलगायत प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाइ छ । पछिल्लो समय कर्जाको माग अत्याधिक हुन थालेको एक बैंकरले बताए । ‘आपूर्तिभन्दा ऋणको माग अत्यधिक बढी छ,’ उनले भने–‘माग र आपूर्तिबीचको असन्तुलनले समस्या पारेको छ ।’
चिन्तामा बैंकरहरु
बैंकहरुले अहिलेसम्म २६ खर्ब ३१ अर्ब ऋण लगानी गरिसकेका छन् । निक्षेप संकलन भने २९ खर्ब ६६ खर्ब गरेका छन् ।
बैंकलाई लगानीयोग्य रकमको अभाव छ । यस्तो बेलामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देखि सामान्य कर्मचारी र बैंक सञ्चालकसम्म निक्षेप संकलन कसरी गर्ने भन्ने चिन्तामा छन् ।
लगानीयोग्य रकमको अभावका कारण बैंकको व्यापार व्यवसाय नै खुम्चिने अवस्था आएको छ । लगानी गर्ने पैसाको अभाव हुँदै गएपछि बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा नै चलेको छ । भित्र–भित्रै अर्को बैंकले दिने भन्दा बढी ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन् ।
अहिले करिब पौने २ खर्ब रुपैयाँ सरकारी ढुकुटीमा रहेको रकम खर्च नभएकै कारण समस्या आएको उनीहरुको बुझाइ छ । अघिल्लो वर्षदेखि नै वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तारमा देखिएको असन्तुलन कायमै छ । चालू आर्थिक वर्ष शुरुमा तरलताको अभाव केही कम भएजस्तो देखिए पनि त्यसपछि फेरि चर्किएको छ । बैंकमा देखिएको लगानीयोग्य रकमको अभाव कम गर्न पनि बैंकहरुले विदेशी बैंकसँग ऋण लिन शुरु गरेका हुन् ।
सीसीडीले दिँदैछ अर्को तनाव
नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउनका लागि नीतिगत रुपमा बाटो खोलि दिए पनि उनीहरुले पैसा ल्याउन सकिरहेका छैनन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोलिदिएको थियो । तर, त्यो बाटो प्रयोग गरेर पनि बैंकहरुले ऋण ल्याउन सकेका छैनन् ।
निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु लगानीयोग्य रकमको समस्यामा छन् । धेरैजसो बैंकको कर्जा–निक्षेप–पुँजी अनुपात (सीसीडी रेसियो) ८० प्रतिशतनजिक पुगेको छ । अर्थात एक सय रुपैयाँ बैंकहरुले सर्वसाधारबाट निक्षेपको रुपमा संकलन गरे भने ८० रुपैयाँ भन्दा बढी लगानी गर्न पाउँदैनन् ।
एक सय रुपैयाँको निक्षेप संकलन गर्दा २० रुपैयाँ नेपाल राष्ट्र बैंकको खातामा राख्नुपर्छ । अहिले बैंकहरुले लगानी गर्न सक्ने जति अर्थात ८० प्रतिशत नै लगानी गरिसकेका छन् । त्योभन्दा बढी लगानी गरे राष्ट्र बैंकले कारबाही गर्छ । केही बैंक बाहेक धेरै बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।
प्रतिक्रिया दिनुहोस