
काठमाडौं । गत कात्तिक २ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–१ परिपक्क भएपछि कोष व्यवस्थापक एनएमबि क्यापिटलले खारेजी प्रकृया अघि बढाएको छ । कोष व्यवस्थापकले योजनाको नाममा रहेका ११ कम्पनीको शेयर र ५ कम्पनीको ऋणपत्रहरु लिलामीमा विक्री गर्न लागेको हो ।
न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको ४७ हजार ६७० कित्ता साधारण शेयर दुई वाणिज्य बैंक , पाँच लघुवित्त, तीन विकास बैंक र एक इन्स्योरेन्स कम्पनीको रहेको छ । पाँच कम्पनीको एक लाख ७४ हजार कित्ता ऋणपत्र प्रतिकित्ता १००० रुपैयाँदेखि १०५४ रुपैयाँ सम्मको मूल्य तोकिएकाले सो भन्दा बढी मूल्यमा बोलकबोल गर्न कोष व्यवस्थापक एनएमबि क्यापिटलले भनेको छ ।
सामूहिक लगानीकोष नियमावलीमा भएको व्यवस्था बमोजिम योजनाको नाममा रहेको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनिहरुको स्वामित्वको अनुपातमा फिर्ता भुक्तानीका लागि शेयर तथा ऋणपत्र विक्री गर्न लागेको हो । कोष व्यवस्थापकले योजनाको नाममा रहेका अधिकांश शेयरहरु विक्री भईसकेको जानकारी दिएको छ ।
व्यवस्थापकका अनुसार सूचीकरण हुन बाँकी बोनस तथा हकप्रद शेयरहरु, मूल्य निर्धारण हुनबाँकी शेयरहरु तथा मर्जर÷प्राप्तीको प्रकृयामा रहेका यी शेयरहरु लिलामीमा विक्री गर्न लागिएको हो । प्राप्त बोलपत्र मंसिर १२ गते बिहान ९ खोलिनेछ ।
एनएमबी क्यापिटलको पहिलो सामूहिक लगानीकोष योजनाको रुपमा रहेको यस योजनाले पाँच वर्षे अवधिका लागि ७५ करोड रुपैयाँको इकाई विक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस