aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तीन महिनामै अध्ययन र भ्रमणमा सवा २१ अर्ब  बाहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
तीन महिनामै अध्ययन र भ्रमणमा सवा २१ अर्ब  बाहिरियो


काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा नै नेपालबाट विदेशमा अध्ययन र भ्रमण खर्चका लागि २१ अर्ब २१ करोड रुपैयाँ  बाहिरिएको छ । यद्यपि, यो खर्च अघिल्लो वर्षभन्दा कम हो । यो तथ्यांकले नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्चको दायरा घटेको छ  ।

 केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकोमा चालू वर्षको शुरुदेखि त्यस्तो खर्च घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएका हो  । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकोलगायतका कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको बताइएको छ  ।

चालू आर्थिक वर्षको साउन, भदौ र असौज (तीन महिना) मा मात्र नेपालबाट विदेश भ्रमणका लागि २१ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको छ  । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो खर्च करिब २८.१ प्रतिशतले घटेको हो  । आर्थिक वर्षको असोजसम्ममा भ्रमण शीर्षकमा २९ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ  । 

राज्यको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले पनि विदेशी मुद्रा सटही सुविधामा कडाइ गरेको छ । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी मातहतको मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । यसले पनि विदेशमा अध्ययन र भ्रमणमा जानेमा कमी आएको अनुमान गरिएको छ । तर, आर्थिक वर्षको पहिलो तीन महिनामा विदेश अध्ययन र भ्रमणको खर्च घट्यो भन्दैमा यसलाई सुधारका रूपमा विश्लेषण गर्न नसकिने बिज्ञहरुको भनाइ छ ।
‘आउँदा दिनमा कस्तो प्रवृत्ति देखिन्छ, त्यसको आधारमा विश्लेषण गर्न सजिलो हुन्छ,’ एक बिज्ञले भने  । भ्रमणमा हुने खर्च घटेसँगै विदेश अध्ययनका लागि बाहिरिने रकममा पनि कमी आएको छ  । राष्ट्र बैंकका अनुसार गत असोजसम्म अध्ययनका लागि मात्र १० अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ  । 

गत वर्ष विदेशमा अध्ययनकै लागि ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ  । अघिल्लो वर्ष यस्तो रकम ३८ अर्ब ८ करोड रुपैयाँ थियो  । भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको प्रतिवेदनमा जनाइएको थियो  ।

शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि सरकारले पनि विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमा छलफल शुरु गरेको छ भने नैतिक रूपमा निरुत्साहित गर्न थालेको छ  । यही कारण चालू आर्थिक वर्षको शुरुदेखि नै सुधार देखिन थालेको राष्ट्र बैंकको दाबी छ  ।

चालू आर्थिक वर्षको बजेटमा विदेशी अध्ययनलाई कडाइ गर्ने कि भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो  । छलफलमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत मुलुकबाट पछिल्लो समयमा रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति शुरु भएकाले भन्दै विदेशमा अध्ययनलाई कडाइ गर्ने बेला भइनसकेको निष्कर्ष निकालियो  । 

सोही कारणलगायत पछिल्लो समयमा दुई वटा तर्क बलियो भएपछि उक्त विषय अन्तिम समयमा बजेटमा राखिएको थिएन  । एकैपटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गरिँदै जाने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए  । 

‘छात्रावृत्तिमा विदेशमा अध्ययन गर्न जानेलाई कुनै अप्ठेरो हुँदैन,’ ती अधिकारीले भने–‘तर, घरबाटै सबै खर्च व्यहोर्ने गरी गरिएका विदेशी अध्ययन निरुत्साहित गर्ने नीति सरकारको छ  ।’ यस विषयमा निरन्तरजसो छलफल हुँदै आए पनि मुलुकको चालू खाता र भुक्तानी सन्तुलन घाटामा जान थालेपछि सरकार अलि बढी तातेको उनले बताए  । ‘नेपालमा पनि धेरै राम्रा र गुणस्तरीय स्कुल क्याम्पस छन्, ती पर्याप्त नभए अरू पनि थपौं,’ उनले भने–‘तर, पैसा छ भन्दैमा विदेशमा धेरै पैसा खन्याउनुभएन  ।’ 
 

प्रतिक्रिया दिनुहोस