काठमाडौं । मंगलबार अरुको बैंक खाताबाट रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचारीहरुको समेत संलग्नता रहेको आंशका देखिएको छ । ग्राहकले बैंकमा बुझाएका काजगपत्र र बैंकमा मात्रै हुने कागजातहरु ठूलो परिमाणमा चोरहरुको गिरोहसँग भेटिएपछि सो आशंका देखिएको हो ।
एकपछि अर्को गर्दै बैंकको सुरक्षा प्रणालीमाथि चोरहरुको आक्रमणले नेपालको सिंगो बैंकिङ प्रणालीमा नै चुनौती भइरहेका बेला बैंकका उच्च कर्मचारी नै ग्राहकको खाताबाट रकम चोरी गर्ने कार्य संलग्न रहेको पाइएपछि सर्वसाधारणमा बैंकप्रतिको विश्वास घटेको छ ।
डेढ दर्जनभन्दा बढी बैंकबाट कागजपत्र चोरको गिरोहले कसरी फेला पार्यो भन्ने विषय यतिबेला प्रहरीको अनुसन्धान केन्द्रित रहेको स्रोतले बतायो । बैंकमा मात्रै हुने कागजपत्र चोरसँग भेटिएपछि उनीहरुलाई बैंककै कर्मचारीले सहयोग गरेको हुन सक्ने आशंकामा प्राम्भिक अनुशन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बैंकिङ क्षेत्रमा बढ्दै गएको अविश्वासलाई लिएर केन्द्रीय बैंकले पनि चासो राखेको छ । राष्ट्र बैंकले आफ्नो नियम निकायमार्फत अनुसन्धान शुरु गरेको छ । अनधिकृत व्यक्तिको हातमा कसरी ती कागजपत्र पुगे, बैंकले काम कसरी गरिरहेका छन् भन्ने विषयमा सुक्ष्म अध्ययन गर्नुपर्ने विषयमा राष्ट्र बैंकमा छलफलसमेत भएको छ ।
कर्मचारी भर्नादेखि नै उनीहरुको सुरक्षा जाँच गर्नुपर्ने तथा सूचना प्रविधिमा बैंकको लगानीका साथै गुणस्तरको विषयलाई पनि फेरि नयाँ शिराबाट अध्ययन आवश्यक रहेको जनाइएको छ ।
पछिल्लोपटक प्रहरीले पक्राउ गरेको चोरको गिरोहसँग भेटिएका कागजपत्रका आधारमा लक्ष्मी बैंक, सेञ्चुरी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, आईसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक र युनाइटेड फाइनान्सका सम्बन्धित शाखाका कर्मचारी र सीईओसम्म अनुसन्धान घेरामा रहेकाले प्रक्रिया थालनी गरिएको प्रहरी जनाएको छ ।
प्रहरी स्रोतले अहिले सम्बन्धित बैंक शाखाका सीसीटीभी फुटेजमाथि अनुसन्धान भरहेको जनाएको छ। जुनसुकै पदको व्यक्ति चाहे त्यो कस्टमर सर्भिसको कर्मचारी होस्, चाहे शाखा प्रमुख वा सीईओ र सञ्चालक होस् यस्तो गम्भीर प्रकृतिको वित्तीय अपराधमा संग्लनमाथि सुक्ष्म अनुसन्धान गर्न राष्ट्र बैंकले पनि प्रहरीलाई आग्रह गरेको छ । सो गिरोहले अहिलेसम्म जनता बैंकबाट १९ लाख र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ चोरी गरेको प्रष्ट भइसकेको छ । त्यसबाहेक अन्य बैंकबाट कति कति रकम चोरी गर्न सफल भए भन्ने निक्र्यौल अझै भएको छैन ।
प्रतिक्रिया दिनुहोस