
काठमाडौं । स्वरोजगार लघुवित्त र हिमालयन डिष्टिलरी गरि दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा दुबै कम्पनीको मंसिर १५ गते आइतबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।
दुबै कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेले स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४८१ रुपैयाँ २५ पैसा कायम गरेको छ।
लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट २६.७५ प्रतिशत बोनस शेयर तथा १.४१ प्रतिशत नगद लाभांश गरि कूल २८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर १५ गतेदेखि बुकक्लोज गरेको हो । हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँ रहेको छ। ७ करोड २० लाख ९९ हजार ९०७ रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, हिमालयन डिष्टिलरीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता एक हजार १६६ रुपैयाँ ६७ पैसा कायम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
पुस १ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि मंसिर १५ गते बुकक्लोज गरेको हो। हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस